जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १२:२४

सरकारी जग्गा कब्जा गर्नेबिरुद्ध कठोर बन्यो प्रशासन, कांग्रेस नेता खडकाले हडपेको स्काउटको जग्गामा शिलबन्दी


काठमाडौं, बैशाख ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद दीपक खड्काले हडप्नु भएको स्वयंसेवी संस्था नेपाल स्काउट केन्द्रीय कार्यालयको जग्गा र त्यहाँका भवनमा ताला लगाएर शिलबन्दी गरिएको छ ।

काठमाडौं प्रशासनले नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा सिल गरेको हो । बिहीबार साँझ प्रहरीसहित प्रशासनको टोली र जनप्रतिनिधिहरू लैनचौर पुगेर जग्गा गरिएको हो । सिल गर्न गएको टोली त्यहाँ रहेको लैनचौर बैंक्वेटमा कार्यक्रम भइरहेकाले त्यो कार्यक्रम सकिँदासम्म प्रशासनले पर्खेको थियो । कार्यक्रम सकिएपछि प्रशासनले शिलबन्दी गरेको हो ।

कांग्रेस सांसद दीपक खड्काले स्काउटको १२ रोपनी जग्गा र भवन कब्जा गर्नुभएको थियो । स्काउटको जग्गा भाडामा लिएका सांसद खड्काले आसपासमा थप ९ रोपनी जग्गासमेत हडप्नुभएको छ ।

स्काउटको जग्गा र भवन नियन्त्रणमा लिनुभएका खड्काले १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहनु भएको छ । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उहाँलाई यसअघि सरकारले हटाउन सकेको थिएन । संखुवासभाबाट निर्वाचित सांसद् खड्कालाई स्काउटलाई फिर्ता गर्नु भनी पाटन उच्च अदालतले दुई वर्षअघि फैसला गरेको थियो ।

अदालतको फैसलासमेत नमानेको भन्दै स्काउटले जग्गा तथा भवन फिर्ता गराउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री, खेलकुदमन्त्री, सबै सांसद, संसदीय समितिहरू, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत राज्यका सबैजसो निकायलाई पत्राचार गरेर हारगुहार गराइएको थियो । अझ, स्काउटको तालुक मन्त्रालय युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ आएपछि अदालतको आदेशअनुसार जग्गा र भवन खाली गराउनुको सट्टा छानबिन समिति गठन गर्नुभएको छ ।

 

खड्का सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो । सम्झौताको म्याद २०७५ मै सकिए पनि सम्झौताअनुसार भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ भुक्तानी खड्काले नगरेको स्काउटका निर्देशक रामप्रसाद भट्टराईले राज्यका सबैजसो निकायलाई लेखेको पत्रमा उल्लेख छ ।

खड्काको कम्पनीले ३ रोपनी जग्गा लिएको थियो । लगत्तै उहाँले आसपासको थप ९ रोपनी जग्गा १५ वर्षदेखि हडपेर दुरुपयोग गर्नुभएको हो । भाडामा लिएको ३ रोपनी जग्गामा खड्काले लैनचौर ब्याकेट र माई च्वाइस रेस्टुरेन्टलाई भाडामा लगाएका छन् । बैङ्केट र रेस्टुरेन्टको संरचना ५ रोपनीमा फैलिएको छ । बाँकी करिब ७ रोपनी जग्गामा सशुल्क पार्किङ राखिएको छ ।

खडकाले स्काउटकै जग्गामा पार्टीको झन्डासहित आफ्नो सम्पर्क कार्यालयसमेत खोल्नुभएको थियो ।स्काउटले जग्गा फिर्ता लिन ताकेता बढाएपछि सम्पर्क कार्यालय भने हटाइएको छ ।
लैनचौर चोकको स्काउट भवनको ३६ वटा सटर/कबल पनि खड्काले १५ वर्षदेखि भाडामा लिनुभएको थियो । भाडामा दिएको भवनमा विद्युत् र पानीको महसुलसमेत स्काउटको नाममा उठ्थ्यो ।