जनता टाइम्स

८ बैशाख २०८१, शनिबार १८:११

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय


कास्की, ८ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ । उहाँले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरुङलाई आज जिम्मेवारी तोक्नुभएको हो । चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

बाँकी रहेका उद्योग, पर्यटन, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा खानेपानी, कृषि तथा भूमि व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री अधिकारीले नै राख्नुभएको छ ।

गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही दिन चुमान र गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । सरकार दाबि गर्ने क्रममा सभामुखलाई समावेश गरेको भन्दै दायर भएको अधिकारीको नियुक्ति विवादमा रहेको छ । यस विषयमा परेको रिटमा सर्वोच्चले १० गते पूर्ण सुनुवाई गर्ने भएको छ ।