जनता टाइम्स

९ बैशाख २०८१, आईतवार १५:०१

लुम्बिनी सरकारबाट बाहिरियो जसपा


बुटवल, ९ बैशाख । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ । जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी हुनुभएको थियो । कृषि तथा भूमि व्यवस्था मन्त्री रहनुभएको भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । गत चैत २५ मा अहिर मन्त्री नियुक्त हुनुभएको थियो । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सोही निर्णयका आधारमा मन्त्री अहिरले आज राजीनामा दिनुभएको हो । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद रहनुभएको छ । मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिँदा ४८ मत पाउनुभएको थियो । जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । सर्मथन फिर्ता लिएमा भने सरकार अल्पमतमा पर्ने देखिन्छ ।