जनता टाइम्स

९ बैशाख २०८१, आईतवार २२:३६

पब्लिक अडिटमा एमालेका नेता-कार्यकर्तालाई असफल हुने छुट छैन : इश्वर पोखरेल


काठमाडौं, बैशाख ९ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पब्लिक अडिटमा एमालेका नेता कार्यकर्तालाई असफल हुने छुट नहुने प्रष्ट पार्नुभएको छ । एमाले पब्लिक प्रपर्टी भएको बताउँदै बरिपष्ठ उपाध्यक्ष पोखरेलले सवै सदस्य त्यसमा उतिर्ण हुनैपर्ने बताउनु भयो ।

ललितपुरको गोदावरीमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथक बैठकको आज समापन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पब्लिक अडिटमा एमालेलाई असफल हुने छुट नहुने बताउनुभयो
एमालेका हरेक नेता–कार्यकर्ताले आफूहरुबारे पब्लिक अडिट हुन्छ भन्ने कुरा बुझ्नैपर्ने उहाँले बताउनुभयो ।

’हामी जिम्मेवार र जवाफदेही हुनुपर्छ, एमालेका कोही पनि कार्यकर्ताले हाम्रो बारेमा पब्लिक अडिट हुनुपर्छ भन्ने बुझ्नुपर्छ, यदि पब्लिक अडिनम बेरुजु देखियौं भन्ने हाम्रो काम छैन, हामी उपयोगी हुन सक्दनौं,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘हामी पब्लिक प्रपर्टी भएको हुनाले पब्लिकले हाम्रो अडिट गर्छ, यो अडिटमा बेरुजु निस्कने छुट हामीलाई छैन, हरेक नेता र कार्यकर्ताले त्यस दिशामा सोच्छ जरुरी छ, तब मात्र हामी एमालेलाई निर्णायक शक्ति बनाउन सक्छौं ।’

एमाले कमजोर भयो भने राष्ट्रिय शक्ति कमजोर हुने भन्दै उहाँले एमालेलाई अझ बलियो बनाउनेगरी लाग्न आग्रह गर्नुभयो ।

’एमाले आफैं एउटा राष्ट्रिय शक्ति हो, एमाले राष्ट्रिय शक्तिका रुपमा निर्णायक विन्दुमा पुग्नुपर्ने आवश्यकता छ, त्यसका लागि हामीले आफूलाई योजनाबद्ध ढंगले अगाडि बढाउन जरुरी छ, अरु पनि शक्ति सबैलाई समेटेर लैजानुपर्ने दायित्व एमालेको काँधमा छ, एमाले बलियो भयो भने राष्ट्रिय शक्ति निर्णायक रुपमा बलियो हुन्छ, एमाले कमजोर भयो भने मुलुकको राष्ट्रिय शक्ति कमजोर हुनेछ, त्यसकारणले एमालेलाई बलियो बनाउने, सुदृढ गर्ने, विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व एमालेले खोजेको चिज यही हो, यदि विचारमा लिरीबिरी गर्नेहरुको पंक्ति बढ्दै गयो, संगठन सुदृढ भएन र जनतामा स्थापित तथा लोकप्रियता प्राप्त गरेका व्यक्ति नेतृत्वमा रहेनन् भने एमाले कमजोर हुनेछ, त्यसकारण एमालेलाई विचार, संगठन, नेतृत्व र आचरणमा सुदृढ गर्नु वास्तवमा राष्ट्रिय शक्ति निर्माण गर्नुको महत्वपूर्ण पक्ष हो,’ पोखरेलले भन्नुभयो ।

उहाँले आगामी चुनावमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन एकताबद्ध भएर लाग्न निर्देशन दिनुभयो । ’एमाले राष्ट्रिय शक्ति छँदैछ, यसलाई सुदृढ गर्ने र निर्णायक शक्ति निर्माणमा लाग्नुपर्छ, यो भने मिसन ०८४ हो, त्यो भनेको एमालेलाई बहुमत प्राप्त बनाउनेगरी एमालेरुपी शक्तिलाई निर्णायक विन्दुमा पुर्याउने काममा सवै जुटनुपर्छ,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

एमाले राष्ट्रिय राजनीतिमा नयाँ ढंगले अघि बढ्न खोजेको भन्दै उहाँले पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनमा यसबारे महत्वपूर्ण विषय रहेका बताउनुभयो । उहाँले परिषद् बैठकले गरेका निर्णय, निकालेका निष्कर्ष र पारित गरेका प्रस्तावका आधारमा एमाले आगामी दिनमा अघि बढ्ने जानकारी पनि दिनुभयो । महाधिवेशन प्रतिनिधि परिषद बैठक समापनको क्रममा उहाँले पार्टी अध्यक्ष र परिषदका सदस्यहरुबाट आएको सुझाव मेल खाएको भन्दै सवैलाई धन्यवाद पनि दिनुभयो ।