जनता टाइम्स

१० बैशाख २०८१, सोमबार १५:३३

प्रधानमन्त्रीले गरे केपी ओलीको खुलेर प्रसंशा


काठमाडौं, बैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गर्नुभएको छ ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमालेले आयोजना गरेको हिरक जयन्ती महोत्सवलाई सम्बोधन गर्दै एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले एमाले र अध्यक्ष ओलीको प्रशंसा गर्नुभएको हो ।

एमालेले नेकपा स्थापनाको अवसरमा हिरक महोत्सव आयोजना गरेर, सबैलाई बोलाएर र सिंगै राष्ट्र एक ठाउँमा छ भन्ने सन्देश दिएको भन्दै उहाँले प्रशंसा गर्नुभयो । यसअघि जे जस्तो भएपनि अहिले भने आफूले एमाले अध्यक्ष ओलीलाई निक्कै विश्वास गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

’कमरेड केपी ओलीलाई म विश्वास गर्न चाहान्छु, हिजो हामी विश्वास र अविश्वासको निक्कै ठूलो चक्रबाट गुज्रिएका छौं, म विश्वास गर्न चाहान्छु र नयाँ प्रक्रियातिर अघि बढौं भन्ने अपिल गर्न चाहान्छु,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

नेपालको इतिहासमा आजको दिन ऐतिहासिक भएको भन्दै प्रधानमन्त्री दाहालले नेपालका कम्युनिष्टहरु एक ठाउँमा एकताबद्ध हुने हो भने देशको निर्णायक शक्ति बन्ने प्रवल सम्भावना रहेको पनि बताउनुभयो ।

’आजको दिन ऐतिहासिक दिन हो, नेपालमा राणा शासन रहेकै बेला नेपालको इतिहासमा युगान्तकारी दूरगामी प्रभाव पार्नेगरी केही युवाले आँट गरेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने जमर्काे गर्नुभयो, आधा दर्जन भन्दा कम नेताले सुरु गरेको त्यो आन्दोलन आज देशको विशाल आन्दोलन बनेको छ, देशको निर्णायक शक्ति बन्ने ठाउँमा छ, अहिले पनि हामी एकताबद्ध हुने हो भने देशको एक नम्बर शक्ति बन्ने र समाजवादतिर देशलाई डोर्याउन सक्ने सम्भावना प्रवल छ, फेरी त्यतातिर एकपटक चिन्तन मनन गरौं,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।