जनता टाइम्स

१० बैशाख २०८१, सोमबार १८:३२

सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौं, १० बैशाख । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकाल एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।

नाउपाका लक्ष्मणकिशोरले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै आइतबार रिट दायर गर्नुभएको थियो । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिनुभएको थियो । नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित २ वैशाखमा दाबी पेस गर्नुभएको थियो ।

नाउपाका लक्ष्मणकिशोर र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबि गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबिलाई अस्वीकार गर्दै फेरी दुई दिनको समय दिएर सरकार बनाउन दाबि गर्न आव्हान गर्नुभएको थियो । त्यसपछि सोडारीले यस अघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिदै एमाले, माओवादी, नाउपाको रन्जिता पक्षको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे र प्रदेश प्रमुखले उहाँलाई बैशाख ६ गते मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।