जनता टाइम्स

११ बैशाख २०८१, मंगलवार १४:११

हिनताबोध नगरौँ, नवीन समझदारी गरेर राजसंस्थाको पुनःस्थापना गरौं : लिङ्देन


काठमाडौं, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ समझदारी गरेर हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गर्न आग्रह गर्नुभएको छ । अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत आज नेपाल आउन लागेका कतारका अमिर शेख तमीम विन हमद अल थानीलाई स्वागत गर्दै सरकारले उनलाई गर्ने सम्मान राजतन्त्रप्रतिको सम्मान भएको उल्लेख गर्नुभएको हो ।

लिङ्देनले सरकारले अमिर थानीको सम्मानमा आज सार्बजनिक बिदा दिएको र उनलाई २१ तोपको सलामी दिने कार्यक्रम रहेको भन्दै यो राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ । कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिईने कार्यक्रम छ । नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो । त्यसैले हिनताबोध नगरौँ ! नवीन समझदारी गरौं !! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ !!!’