काठमाडौं, बैशाख ११ । नेपाली चिया ब्यवसायीले भारतले लगाएको अवरोध तत्काल हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गुहारेका छन ।
भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि मारमा परेका नेपाली व्यवसायीहरुले आज प्रधानमन्त्री दाहाललाई भेटेर तत्कालै अवरोध हटाउनका लागि पहल गरिदिन माग गरेका हुन ।
पूर्वी नेपालका चिया उद्योगीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरे । भारतीय व्यवसायीले अनिवार्य परीक्षणको बहानामा नेपाली चियामाथि पुनः अवरोध सिर्जना गरेपछि नेपाली उद्योगी व्यवसायी मारमा परेको ब्यवसायीको भनाइ छ । भारतीय व्यवसायीले नेपाली चिया निर्यात रोक्न दबाब दिएपछि समस्या आएको हो ।
भारतीय चिया परीक्षणबिना तेस्रो देश निर्यात हुँदैन अनि बिना परीक्षण नेपाली चियालाई किन निर्बाध प्रवेश दिएको भनेर विरोध गरेपछि भारतीय प्रशासनले नेपाली चियानमा अवरोध गरेको व्यवसायीहरुको भनाइ छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा आज इलामका चिया व्यवसायीहरुको टोलीले प्रधानमन्त्रीलाई भेटेको छ । ‘नेपाल–भारत वाणिज्य सन्धिमा एकअर्का देशका क्वारेन्टिन प्रमाणपत्रलाई दुवै देशमा मान्यता दिने भनेर निर्यात हुँदै आएको नेपाली चियामाथि एक्कासी अवरोध गर्दा मारमा परेका छौं । यसमा नेपाल सरकार र मातहतका निकायले तुरुन्त पहल गर्नुपर्छ,’ इलाम फिक्कलका चिया व्यवसायी गोपाल कट्टेलले भन्नुभयो ।
भारतका व्यवसायीले चियालाई खाद्य प्रयोगशालाहरुमा परीक्षण गरिने वस्तुका रूपमा समावेश गर्न माग गर्दै आएका छन् । त्यस्तै सन् २०२१ नोभेम्बर ३ मा टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयमा पत्राचारै गरेको थियो । तत्कालीन राज्यसभा सदस्य शान्ता क्षेत्रीले पश्चिम बंगाल विधानसभामै नेपाली चिया आयातमा रोक लगाउन माग गर्नुभएको थियो ।
गुणस्तरीय नेपाली चियाका कारण दार्जिलिङ चियाको ब्रान्ड खतरामा पर्ने भएपछि व्यवसायीहरुकै पहलमा नेपाली चियामा अवरोध खडा गर्दै आएका छन् । केही भारतीय व्यापारीले नै कम मूल्यमा आयात गरिएको नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर तेस्रो देश निर्यात गर्ने गरेको पाइन्छ ।
गत बर्ष पनि भारतीय अवरोध विरुद्ध नेपाली व्यवसायीहरुले काठमाडौंमा आएर अवरोध हटाउन माग गरेका थिए । हाल पनि झापाको काकडभिट्टा नाकामा नेपाली चिया बोकेका दर्जनौं गाडी रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्