जनता टाइम्स

११ बैशाख २०८१, मंगलवार १७:१९

यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने अनुमान


काठमाडौं, ११ बैशाख । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले विश्वव्यापी आर्थिक मन्दीका बाबजुद यो वर्ष अर्थात् सन् २०२४ मा विद्युतीय गाडीको बिक्रीमा ठूलो वृद्धि हुने बताएको छ । यो वर्ष विश्वभर एक करोड ७० लाख वटा विद्युतीय गाडीको बिक्री हुने आईईएले अनुमान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको वर्ष एक करोड ४० लाख वटा कार बिक्री भएका थिए ।

यो वर्ष विश्वव्यापी रूपमा बिक्री हुने पाँच वटामध्ये कम्तीमा कार विद्युतीय हुने र यसले सडक यातायातका लागि तेलको मागलाई कम गर्ने खबरमा उल्लेख छ । विद्युतीय कारको बिक्रीसँगै भरपर्दो बिजुली र चार्जिङ पूर्वाधार भविष्यका लागि निकै महत्त्वपूर्ण हुने आईईएले जनाएको छ । गएको वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा विद्युतीय कारको बिक्री २५ प्रतिशतले बढेको छ ।

सन् २०२० को पूरै वर्षभरि बिक्री भएका विद्युतीय कारको सङ्ख्या जति यो वर्षको तीन महिनामै बिक्री भएको रिपोर्टमा उल्लेख छ । विद्युतीय गाडी सबैभन्दा धेरै बिक्री हुने देश चीन बनेको छ । अमेरिकामा नौ वटामध्ये एउटा र युरोपमा चार वटामध्ये एउटा कार विद्युतीय कार बिक्री भएका छन् । तर चीनमा भने पेट्रोलियम इन्धन र विद्युतीय गाडीको बिक्रीदर आधारआधा रहेको छ । ब्याट्रीको मूल्यमा कमी आउँदा विद्युतीय गाडीको भाउ पनि घट्दै गएको छ । बजारमा कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दा उपभोक्ताले सस्तोमा विद्युतीय कार पाउन थालेका खबरमा उल्लेख छ ।