जनता टाइम्स

१२ बैशाख २०८१, बुधबार १६:४७

१५ हजारमै पाइन्छ सिरहामा ड्राइभिङ्ग लाईसेन्स !


सिरहा, १२ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स) खरिद विक्रि हुने गरेको पाइएको छ । कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ अजार सम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाईएको हो ।

ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जतिपटक परीक्षा र ट्रायलमा सहभागी भएपनि पास नहुने तर घुस वापत रकम बुझाएपछि सजिलै लाईसेन्स हातलाग्ने सेवाग्राहीहरु बताउँछन् । सिरहा गोलबजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाईकलको लाईसेन्सका लगी ट्रायल दिनुभयो । उहाँ एक पटक पनि पास हुन सक्नुभएन । तर, उहाँसँगै गएकाहरुले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे । यहाँ जुनसुकै गाडीको लाईसेन्स लिन घुस रकम विचौलियामार्फत बुझाए सजिलै लाईसेन्स पाईने ती युवकले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाई रहेको छु, लिखित पहिलो पटकमै पास गरें। तर, तीन पटक ट्रायल दिँंदापनि पास हुन सकिएन् । घुस नदिई लाईसेन्स लिउँ भनेको मुस्किल रहेछ ।’ ‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्रायल दिएँ । पासै हुन सकिएन । अव त्यसै एक वर्ष पछाडी परियो ।’ उहाँले थप्नुभयो,‘अर्को पटक घुस दिएरै भएपनि पास गर्नुपर्ने अवस्था आयो ।’ सिरहा धनगढीमाईका रमेश यादव (परीवर्तीत नाम) पाँच वर्ष देखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँनुहुनछ । तर, उहाँसँग ड्राईभिङ लाइसेन्स थिएन । उहाँ लेखपडसमेत जान्नुहुँदैन तर, उहाँले ३५ हजार रुपैयाँ तिरेर लाईसेन्स लिनुभयो ।

उहाँले भन्नुभयो,‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न पनि जान्दिन । पैसा नदिई लाईसेन्स पाइँदैन भन्ने सबै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय बाहिरै विचौलीयासंग अवैध रकम बुभाएर लाईसेन्स लिएँ ।’ ट्याक्टर, म्याजिक र विङ्गर चालकमात्र हैन यहाँबाट लाईसेन्स लिने धेरैले रकम तिरेर र भनसुनको भरमा मात्र लाईसेन्स पाउने गरेको एक विचौलियाले बताउनुभयो । ति बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाईसेन्स नै पाइँदैन, हामीहरुलाई पनि थौरै कोटा दिएको हुन्छ । त्यहि अनुसार सेटिङ्गमा काम हुने हो ।’

यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुसेश्वर साहसँग फोन सम्पर्क गर्दा उहाँले फोन उठानुभएन । रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्वर पुरीसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो,‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माँग्ने गरेको भन्ने मलाई जानकारी छैन। भएको भए मलाई जानकारी गराउनुस तुरुन्त कारवाही गर्छु ।’

उहाँले ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिनेमात्र हो, बाँकी काम यातायत कार्यलयले गर्ने भएकोले हाम्रो खासै भुमिका पनि हुँदैन । सिरहामा विना विचौलीयाको लाईसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरिक्षक पुरीले केहि सुनिएन भनी फोन काट्नुभयो । यातायात र ट्राफिक प्रहरीले लाईसेन्स वापत अवैध रुपमा उठाईएको रकम जिल्ला, प्रदेश र विभागसम्म नै बुझाउने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जनाउनुभयो ।

उहाँले भन्नुभयो,‘यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरुको मिलोमतोमा विचौलीया खडा गरेको हुन्छ, लाईसेन्सको लिखित सकिएर ट्राईल सकिने दिन नै अवैध असुली गरेको रकम बाँडफाँड गर्ने गरिएको छ ।’ ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले विचौलीया खडागरी खुलेयाम रुपमा ड्राइभिङ लाईसेन्स विक्रि, वितरण गरिरहेको सेवाग्राहीहरु बताउँछन् । ड्राइभिङ लाईसेन्स लिन विचौलीयासंग सेटिङ नमिले लाईसेन्स नपाईने सेवाग्राहीहरुको भनाई छ ।