जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार १४:४३

भारतको मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु


काठमाडौं, १५ बैशाख । भारतको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स ९सीआरपीएफ०का दुई जवानको मृत्यु भएको छ । भारतीय मिडियाहरुका अनुसार आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा तैनाथ सीआरपीएफको १२८ औं बटालियनका थिए । संदिग्ध चरमपन्थीहरूले पहाडको चुचुरोबाट नारायणसेना गाउँमा अन्धाधुन्ध गोली चलाएको बताएको छ ।

आक्रमणको क्रममा, सीआरपीएफको १२८औं बटालियनको पोस्टमा बम विस्फोट भएको र दुई सैनिकको मृत्यु भयो र दुई जना घाइते भएका छन् ।

प्रहरीले मारिएका सीआरपीएफ जवानहरूको पहिचान सब इन्स्पेक्टर एन सरकार र हेड कन्स्टेबल अरुप सैनीको रूपमा गरेको छ । यसअघि २४ अप्रिलमा राष्ट्रिय राजमार्ग–२ (इम्फालदेखि दिमापुर) मा एउटा बम विस्फोट भएको थियो जसमा एउटा पुलमा क्षति पुगेको थियो । मणिपुरमा गत वर्ष मे महिनामा सुरु भएको मेइती र कुकी जनजातिबीचको जातीय हिंसामा हालसम्म २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढी घरबारविहीन भएका छन् ।