जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १७:२९

९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच रहेको प्रधानमन्त्रीको दाबी


काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताउनुभएको छ । काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताउनुभयो ।

उत्पादित जलविद्युत देशभित्रै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको उहाँको भनाइ थियो । नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट भएको प्रधानमन्को भनाइ छ ।

विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर विस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरू प्रभावित भएको बताउनुभयो । जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको उहाँको भनाइ छ ।