जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १९:१९

काठमाडौंको बलम्बुमा आगलागी, बस जलेर पूर्णरुपमा नष्ट


काठमाडौं, १७ वैशाख । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा ३ ख ६१७३ नम्बरको मिनी बसमा आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको हो । उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसले लगायो भनेर नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबिच, काठमाडौं प्रहरीले विभिन्न मिति तथा समयमा हराएका एवम् चोरी भएका चार थान स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतमा खोजतलासका लागि अनुरोध गरिएका सवारी साधनहरुको खोजतलास गरी फेला परेका स्कुटर जिल्ला प्रहरी परिसर काठमाडौँले धनीलाई हस्तान्तरण गरेको हो ।