जनता टाइम्स

२४ बैशाख २०८१, सोमबार १३:०८

सीप मेलामा मोवाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप


काठमाडौं, २४ बैशाख । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ मा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि तालिम थप गरिएको छ । यस्तै टेलरिङ् (ड्रेस मेकिङ्) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । तालिम सञ्चालनका विषयमा जानकारी लिन राष्ट्रिय अन्तरराािष्ट्रय क्षेत्रगत प्रतिनिधिहरुले अवलोकन गर्न थाल्नुभएको छ ।

यसै क्रममा तालिमको चौथो दिनडच फाउन्डेसन सोसियल डिपलपमेन्ट नेपालका प्रतिनिधिहरुले तालिमका बारेका जानकारी लिएका छन् । मेलाअन्तर्गत १० वटा विधामा ३० वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन भइरहेका छन् । तालिमका कक्षाहरु हरेक दिन विहान ८ बजे सुरु हुन्छन् । तालिमका फास्टफुड एण्ड कुकिङ् र वेकरीका कक्षाहरु ४/४ घण्टा हुन्छन् । अरु कक्षाहरु ३/३ घण्टा हुन्छन् । यसरी दोस्रो कक्षा ११ बजे र तेस्रो कक्षा २ बजे सुरु हुन्छ ।

कुन तालिम कति दिन चल्छ ?

तालिमहरु ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन् । रोजगार संयोजक देवेन्द्र के.सी. भन्नुहुन्छ, ‘प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको छ । एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्व छैन ।’ १० वटा विधामध्ये अटो मोवाइल्समा ३ वटा पेशासँग सम्बन्धित तालिम छन् । पहिलो पेशा अटो इलेक्ट्रिक हो । यो १५ दिन अवधिको हो ।

दोस्रो अटो एअर कन्डिसन हो । यो पनि १५ दिनकै हो । तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) हो । यसमा ३० दिनको कक्षा हुनेछ । निर्माण विधा (दोस्रो) मा डकर्मी (म्यासन), टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् गरी ४ वटा पेशासँग सम्बन्धित तालिम छन् । यी सबै तालिम ३० दिन अवधिका हुन् । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा (तेस्रो) मा वारिस्ता, फास्ट फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटररवेट्रेस तालिम छन् । यीमध्ये फास्ट फुड कुक १५ दिनको हो । अरु ७ दिन अवधिका हुन् ।

सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) विधा (चौथो) मा ४ वटा पेशाका तालिम छन् । डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा र मोवाइल रिपेयरिङ्का कक्षा चलिरहेका छन् । यीमध्ये सीसीटिभीको कक्षा ७ दिन अवधि र अन्य पेशाका कक्षा १५ दिन चल्नेछन् । मेकानिकल विधा (पाँचौँ) मा २ वटा पेशा छन् । वेल्डिङ् पेशाको १५ दिन र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ ।

आर्ट एण्ड कल्चर विधा (छैटौँ) मा आर्ट एण्ड स्कप्चरको तालिम चलेको छ । यसको अवधि १५ दिनको हुनेछ । गार्मेन्ट्स विधा (सातौँ) मा टेलरिङ्/ड्रेस मेकर र फेसन डिजाइनिङ् गरी २ वटा पेशासँग सम्बन्धित कक्षा चलेका छन् । यी दुवै १५ दिन अवधिका तालिम हुन् । टेलरिङ् र डेस मेकरमा अत्याधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २/२ वटा कक्षा चलाइएको छ । व्युटिसियन (सौन्दर्य कला) विधा (आठौं) मा ५ वटा पेशा समेटिएका छन् । यसमा नेल आर्ट, हेयर कट एण्ड स्टायल र सैलुन १५ः१५ दिन अवधिका हुन् ।

मेक अप आर्ट, आइलेस आर्ट ७ दिन अवधिका हुन् । डिजाइनिङ् विधा (नवौं) मा ७ दिन अवधिको स्क्रीन प्रिन्टको कक्षा छ । पुरोहित विधा (दशौँ) मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन् । तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहने छन् । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउने छन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्ने र रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्ने महानगरले जनाएको छ ।