जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १५:५१

‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित


काठमाडौं, २७ बैशाख । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग केही दिन अघि मात्रै लिखित सम्झौता गरेको हो । पहिलो फिल्म ‘बुलबुल’ बाट चर्चा कमाएर अलग छवि बनाएका अभिनेता मुकुनलाई आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वस्तका साथ अनुबन्धित गराइएको निर्माता विनोद पौडेलले जानकारी दिनुभयो ।

फिल्ममा मुकुनको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । ‘पूर्ण बहादुरको सारङ्गी’मा पनि उनलाई शीर्षमध्येको भूमिका मध्य एक महत्वपूर्ण पात्रमा देख्न सकिने पौडेलको भनाइ छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा मुकुन अघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन् । सोसल–ड्रामा बन्ने फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । जसमा मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बुझ्न सकिन्छ ।

जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । करिब दुई हप्ता अघि फिल्मको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ । फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।