भक्तपुर, २९ बैशाख । २१औं शताव्दीको अहिलेको शिक्षा व्यक्तिको सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । एभरेस्ट इगलिश स्कुल भक्तपुर २ मिवाछें व्यासीले आज नवआगन्तुक विद्यार्थीलाई स्वगतमा गरेको फ्रेसर्स् वेलकम (नवआगन्तुकलाई स्वागत) कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा शिक्षाविद् रामगोपाल कर्माचार्यले अहिलेको शिक्षा मानिसको चौतर्फी विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
त्यसकारण उसले जीवनमा सामना गर्नुपर्ने अनेक समस्याको समाधानका रुपमा शिक्षा हुनुपर्ने उहाँको भनाई थियो । चार जीपीए ल्याउनु मात्रै ठूलो होइन, उहाँले भन्नुभयो,‘तीन घण्टाको परीक्षामा कापीमा लेखेको उत्तरले मात्रै पनि विद्यार्थीको मूल्यांकन हुन सक्दैन ।’ स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले सकारात्मक परिवर्तनका लागि शिक्षा भन्ने मुलमन्त्रलाई अगाडि सारी शिक्षा दिइरहेको बताउनुभयो ।
उहाँले स्कुल स्थापनाको ४२ औं वर्षमा उत्कृष्टताका लागि शिक्षा भन्ने नारा बनाई शिक्षा दिइरहेको बताउनुभयो । साथै यसअघि असल बनाऔं, असल बनौं भन्ने मान्यताका साथ शिक्षा दिइरहेको सम्झना गर्नुभयो । कार्यक्रममा स्कुलका संस्थापक प्रिसिपल राजभण्डारीले स्कुलका विविध विषयहरुमा जानकारी पनि गराउनुभयो । साथै उहाँले स्कुलका सञ्चालक, शिक्षक, कर्मचारी, चालक, आयादिदी, इलेक्टिसियन, प्लम्बरलगायतका सम्पूर्ण कर्मचारीहरुको परिचय पनि गराउनुभयो । कार्यक्रममा दिइएको जानकारी अनुसार हाल स्कुलमा एक हजार दुई सय २९ विद्यार्थीहरु अध्ययनरत छन् ।
त्यहाँं शिक्षक कर्मचारी गरी एक सय ५० भन्दा वढी स्टाफहरु छन् । स्कुल पहिलो पटक भक्तपुरको झौखेलमा २०३९ सालबाट सञ्चालनमा आएको जनाइयो । स्कुलले २०५२ सालबाट एसईईमा सहभागी गराउन थालेको जनाइयो । यो वीचमा स्कुलबाट दुई हजार पाँंच सय ६३ जनाले एसइई उतीर्ण गरिसकेको जनाइयो । यो वर्ष एक सय १८ जना एसइईमा सहभागी भई परीक्षाफलको प्रतिक्षामा रहेको कार्यक्रममा जानकारी गराइयो ।
पछिल्लो एसइईमा देशभरबाट चार जना विद्यार्थीले चार जीपीए ल्याएकोमा स्कुलका दुई जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएको जनाइयो । साथसाथै यो वीचमा एक पटक छात्रा बोर्ड फष्ट र एक पटक छात्र बोर्ड सेकेण्ड ल्याउन सफल भएको जनाइयो । कार्यक्रमको उदघाटन राष्टिय गीतका सर्जक ब्याकुल माइलाले गरेका थिए । कार्यक्रममा स्कुलका विद्यार्थीले गीत, नृत्यलगायतबाट नवआगन्तुक विद्यार्थीलाई मनोरञ्जन दिलाएका थिए ।
प्रतिक्रिया दिनुहोस्