काठमाडौं, असोज १३ । सरकारले ललितपुरको भैसीपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि आवास निर्माण थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास भवन शिल्यानास गरी काम अघि बढाउनु भएको हो ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले संघीय सरकार र संसदसँग निरन्तर संवाद गर्नुपर्ने भएकाले आवास भवन बनाउन लागिएको हो । केही दिनपछि मन्त्री आवासको पनि शिल्यान्याश गर्ने योजना रहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । ‘केही दिनपछि मन्त्रीहरुको आवास निर्माण गर्ने प्रयासमा छौँ । अहिलेको मन्त्री आवास पुरानो भयो, भत्किएका घर छन् । पानी परेपछि मन्त्रीहरुले कुम्लुकुटुरो बोक्नुपर्ने अवस्था छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवस भवन निर्माणपछि संघीय मन्त्रीहरुको मन्त्री निवास, स्टेट गेस्ट हाउस, ५ हजारको सभाहल बनाउने तयारी रहेको बताउनु भयो । उहाँका अनुसार २७ रोपनी १२ आना जग्गामा बन्न लागेको आवास भवन २ बर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक अर्ब २० करोड लागतमा सात वटा ब्लक, प्रत्येक ब्लकमा २ वटा भवन गरेर १४ वटा भवन बनाइनेछ । उहाँका अनुसार अत्यधुनिक भवन तीन तलाका हुनेछन् ।
ललितपुरको सैंबुमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारीलाई समेत सरकारले तीव्रता दिएको छ । सो भवन निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न र अत्याधुनिक आवास तथा सम्पर्क कार्यालय दुई वर्षमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरिएको छ । केसी कन्सट्रक्सन तथा समानान्तर ज्वाइन्ट भेन्चरले सो भवन निर्माणकोजसमा भुइँतला सचिवालय, प्रतिक्षालय र गोप्य कोठाका साथै बैठक कक्ष, योगा कक्ष पनि हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्