जनता टाइम्स

४ जेष्ठ २०८१, शुक्रबार २०:०९

एमाले महासचिव शंकर पोखरेलको ठोकुवा : कांग्रेस सत्ताबिना बस्न सक्दैन


रूपन्देही, जेठ ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस सत्ताबिना बस्नै नसक्ने टिप्पणी गर्नुभएको हो ।

नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनको आज नेपालगञ्जमा उदघाटन गर्दै महासचिव पोखरेलले कांग्रेसले सत्ता बाहिर बसेर तीन महिना पनि धैर्य गर्न नसकेको बताउनु भयो । पोखरेलले समीकरण परिवर्तन भएपछि कांग्रेसमा सत्ताको लागि छटपटाहट देखापरेको बताउँँदै काँग्रेसमा अहिले सत्ताको लागि छटपटाहट सुरु भएको उल्लेख गर्नुभयो । एमाले सरकार र सत्ता नभएपछि छटपटाउने पार्टी नभएको बताउनु भयो ।

‘कम्तीमा तीन महिनाको समय काम गर्नका लागि दिनुपर्थ्यो । तर संसद अवरुद्ध गरेर कांग्रेसले सत्ताविनाको छटपटाहट देखाएको छ,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले एमाले आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको समेत स्पष्ट पार्नुभयो । अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको उल्लेख गर्दै उहाँले जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टि उपनिर्वाचनबाट पुष्टि भएको बताउनु भयो ।

‘२०७९ सालको चुनावमा दुईतिहाई ल्याउने भन्दै गठबन्धन गरेका दलले पनि बहुमत ल्याउन सकेनन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘जनताले रोजेको पहिलो पार्टी एमाले भए पनि सरकार चलाउने जनादेश हामीलाई प्राप्त हुन सकेन ।’

महासचिव पोखरेलले एमालेको ध्यान सरकारमा कुर्सीको भागबण्डामा भन्दा पनि २०८४ को चुनाव कसरी जनताको पक्षमा ल्याउन सकिन्छ भन्नेतर्फ रहेको बताउनु भयो । आउने चुनावपछि एमाले आफ्नै एकल बहुमतको सरकार बनाउने सामार्थ्यमा पुग्ने महासचिव पोखरेलको भनाई छ ।

एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको अधिवेशन उदघाटन समारोहमा एमाले सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्याल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, पोलिटव्यूरो सदस्य तथा बाँके इञ्चार्ज खेममान खड्कालगायतले अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो ।

बाँकेमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा ४ जना आकाँक्षी देखिएका छन् । वर्तमान अध्यक्ष किस्मत कक्षपति, उपाध्यक्ष डिल्ली बिसी, पूर्वअध्यक्ष निरक गुरुङ र प्रदेश कमिटी सदस्य घननाथ खनाल अध्यक्ष पदमा आकाँक्षी हुनुहुन्छ ।