जनता टाइम्स

५ जेष्ठ २०८१, शनिबार १०:४४

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा


मुगु, ४ जेठ । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकालयले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनन् । औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफैँ बिरामी सैय्यामा परे जस्तै छ । सरकारले ९८ प्रकारका निःशुल्क औषधि वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा सामान्य सिटामोलसमेत पाउन गाह्रो हुँदै आएको छ ।

सदरमुकाम गमगढी बजारबाट बाहिर हेर्दा चिटिक्क देखिने जिल्ला अस्पताल मुगु, सेवा सुविधाको नजरबाट हेर्दा आफैँ थला परेको छ । बिरामी परेर उपचार खोज्दै आएका मुगालीहरूले गतिल्लो उपचार नपाएको भन्दै दुखेसो पोख्ने गरेका छन् । मुगुको खत्याड गाउँपालिका–९ का राजकुमार लावड सामान्य बिरामि परेपछि जिल्ला अस्पताल पुग्नुभएको थियो । तर, उहाँले अस्पतालमा सिटामोलसमेत पाउन सकेनन् ।

ज्वरो आउने, खोकि लाग्ने, कान दुख्ने जस्ता समस्या देखिएपछि आफू अस्पताल पुगेकोमा सिटामोल पनि पाउन नसकेको उहाँको गुनासो छ । १५ सैय्याको जिल्ला अस्पताल मुगुमा उपचारका लागि मुगुका मात्र नभई छिमेकी जिल्ला हुम्लाका केही क्षेत्रका नागरिक पनि आउने गरेका छन् । मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । औषधि अभाव हुँदा पनि सम्बन्धित निकाय बेखबर रहेको नागरिकहरूको दुखेसो छ । जिल्ला अस्पताल मुगुले अहिलेमात्र नभई समय समयमा औषधि अभाव खेप्दै आइरहेको छ ।

गत भदौ महिनामा खरिद गरिएको औषधिले अहिलेसम्म काम चलेको अस्पताल प्रशासनले जनाएको छ । अहिले गत वर्ष खरिद गरिएका औषधिले धानिरहेको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर कमल ढुङ्गनाले बताउनुभयो । सामान्य बिरामी हुँदासमेत उपचार नपाएपछि नागरिक भने मारमा छन् । गाउँमै अस्पताल भएर पनि आफूहरूले सास्ति खेप्नु परेको उनीहरूको गुनासो छ ।