जनता टाइम्स

८ जेष्ठ २०८१, मंगलवार १३:३८

पशुपतिको भेटी चोरी गर्ने आठ जना पक्राउ


काठमाडौं, ८ जेठ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ । कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन् । पशुपति क्षेत्र विकास कोषका सातसहित आठ जनालाई प्रहरीले जेठ ७ गते सोमबार पक्राउ गरेको हो । पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको छ ।

कोषको नेतृत्वले महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको छ । प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेका अनुसार कोषका तर्फबाट भेटी चोरी भएको जानकारी पाएपछि गएको प्रहरी टोलीले त्यसमा संलग्नलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा दिएको बताउनुभयो । ‘अनुसन्धान हुँदैछ,’ उहाँले भन्नुभयो । कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी आएपछि सिसिटिभीको निगरानीमा राखिएको बताउनुभयो । उहाँका अनुसार सिटिभिटीको निगरानीका क्रममा सोमबार चोरी कार्यमा संलग्नको पहिचान भएपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएर पठाइएको हो ।

‘मन्दिरका दर्शनार्थीले श्रद्धाले चढाएको रकम चोरी गर्ने गिरोह समातिएको छ । बाँकी प्रहरी अनुसन्धानबाट खुल्नेछ,’ उहाँले भन्नुभयो । पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी सङ्कलन हुन्छ । कोषका प्रवक्ता रेवति रमण अधिकारीले सङ्कलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको बत्तिसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सिसिटिभी फुटेजमा देखिन्छ ।

भेटी सङ्कलनको जिम्मेवारी पक्राउ परेका नवराज ढोडारीले हेर्दै आएका छन् । बाजा बजाउने कर्मचारीलाई आर्थिक नियमावली विपरीत खटाएका हुन् कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले । पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएका छन् । परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म लाने गरेको बयान प्रहरीसमक्ष दिएका छन् । कोषाध्यक्ष सुवेदीले बाजा बजाउने कर्मचारीलाई रकम सङ्कलनमा खटाउन नमिल्ने कोषले जनाएको छ ।

‘आर्थिक नियमावली अनुसार विशेष अवस्थाबाहेक बाजा बजाउने कर्मचारीलाई मात्रै होइन, अरुलाई पनि अर्को कुनै शाखामा पठाउन मिल्दैन, भेटी सङ्कलनमा त खटाउन पाइँदैन,’ उहाँले भन्नुभयो । पक्राउ परेका परियारले ज्याकेट लगाएर आउनु भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका छन् । ‘सिसिटिभी छ, हामी यस्तो काम नगर्नेभन्दा केही हुँदैन, कसैले देख्दिैन, गर गर भन्नुभयो, अनि गरेको,’ उनले बयानमा भनेका छन् । परियारसहित भेटी चोरीको गिरोहले सोमबार मात्रै नौ हजार रुपियाँ लुकाएर लगेको बयान प्रहरीसँग दिएका छन् ।