जनता टाइम्स

११ जेष्ठ २०८१, शुक्रबार १८:११

बार्सिलोनाले प्रशिक्षक जाभीलाई हटायो


काठमाडौं, ११ जेठ । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गरेको छ । बार्सिलोनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने बताएको हो । जाभीले बार्सिलोनाका लागि अन्तिम खेल आइतबार हुने ला लिगाको सेभियाविरुद्धको अन्तिम खेल हुने भएको छ । यसअघि जाभीले गत जनवरीमै यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए ।

यस सिजनमा ला लिगा पनि जित्ने अवस्थामा नरहेको र च्याम्पियन्स लिगबाट पनि बाहिरएको अवस्थामा जाभीले बार्सिलोना छोड्ने निर्णय सुनाएका थिए । तर केहि साता अघि मात्र प्रेसिडेन्ट जोन लापोर्टा र क्लबका अन्य वरिष्ठ अधिकारीहरुसँगको छलफलपछि जाभी अझै एक सिजन बार्सिलोनामै रहन सहमत भएका थिए ।

त्यसपछि जाभीको बार्सिलोनाका कैयौं खेलाडीसँग असमझदारी बढेपछि व्यवस्थापनले उनलाई बर्खास्त गरेको बताइएको छ । २०२१ को नोभेम्बर ६ मा बार्सिलोनाको प्रशिक्षक बनेका जाभीको नेतृत्वमा बार्सिलोनाले १४१ खेल खेलेको छ भने ८८ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको छ । त्यस्तै २९ खेलमा हार बेहोरेको छ । उहाँको नेतृत्वमा बार्सिलोनाले २०२२–२३ को ला लिगा जितेको थियो भने २०२२–२३ को स्पेनिस सुपर कोपा जितेको छ ।