जनता टाइम्स

१५ जेष्ठ २०८१, मंगलवार १२:२६

रफाह आक्रमणपछि नेतान्याहुले भने – नागरिकको क्षति हाम्रो लागि दुखद घटना हो


काठमाडौं, १५ जेठ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा आइतबार भएको आक्रमणलाई दुःखद दुर्घटना भन्नुभएको छ । इजरायलले आइतबार रफाहस्थित शरणार्थी शिविरमा आक्रमण गरेको थियो । यस आक्रमणमा कम्तीमा ४५ जनाको ज्यान गएको थियो । आक्रमणपछि नेतान्याहुले अन्तर्राष्ट्रिय स्तरमा लगातार आलोचना खेपिरहनुभएको छ । नेतान्याहुले भन्नुभयो,‘हामीले रफाहबाट १० लाख मानिसलाई सुरक्षित स्थानमा सारेका छौं ।

हामी नागरिकलाई हानि नहोस् भनेर सुनिश्चित गर्ने प्रयास गर्छौं । तर सोमबार एउटा घटना घट्यो । हामी यसको अनुसन्धान गर्दैछौं र हामी यसबाट सिक्ने छौं । नेतान्याहुले भन्नुभयो,‘कुनै पनि नागरिकको क्षति हाम्रो लागि दुखद घटना हो, यो हमासको लागि रणनीति हो ।’ हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४५ जनाको मृत्यु भएको छ ।

सयौं मानिस गम्भीर रूपमा जलेका छन्, धेरैको हड्डी भाँचिएको छ र केही गहिरो घाइते छन् । नेतन्याहुले इजरायलको संसदमा भन्नुभयो,‘हामी गाजामा सर्वसाधारणको सुरक्षाका लागि हरसम्भव प्रयास गर्छौं ।’ हालै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले पनि इजरायललाई युद्ध तत्काल रोक्न भनेको थियो । यसबारे नेतान्याहुले थप्नुभयो,‘लक्ष्य प्राप्त नभएसम्म युद्ध रोक्ने मेरो कुनै मनसाय छैन ।’