जनता टाइम्स

२८ जेष्ठ २०८१, सोमबार १३:१६

प्रतिष्ठानका लागि जग्गा ल्याउन पहल


घोराही, २८ जेठ । राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानका लागि आवश्यक जग्गा ल्याउन पहल थालिएको छ । दाङको घोराहीमा रहेको प्रतिष्ठानले एमविविएसको कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरुप आवश्यक जग्गा ल्याउनका लागि पहल थालिएको रजिष्ट्रार श्याम लम्सालले जानकारी दिनुभएको छ । घोराही उपमहानगरपालिका–१८ नवलपुरमा रहेको जग्गा प्रतिष्ठानको नाममा ल्याउनका लागि पहल भइरहेको छ । विगत ७ वर्षदेखि प्रयास भएपनि काम सफल हुन नसकेको भन्दै प्रतिष्ठानका रजिष्ट्रार लम्सालले यो पटक जग्गा ल्याउने गरि काम भइरहेको जानकारी दिनुभयो ।

जग्गा प्राप्तका लागि जिल्ला प्रशासन कार्यालय दाङसहित विभिन्न सरकारी निकायसँगको समन्वयमा छलफल प्रक्रिया अघि बढाइएको छ ।

उहाँले भन्नुभयो,‘अहिले प्रतिष्ठानको भौतिक संरचनामा एमबिबिएस पढाइका लागि काम लाग्ने भएकाले एमबिबिएस पढ्ने विद्यार्थी र प्राध्यापकहरुलाई आवासको सुविधाका थप जग्गा आवश्यक रहेकाले जग्गाको व्यवस्थापन गर्ने काम भइरहेको छ ।’ जग्गा प्राप्तका लागि छलफलसँगै नवलपुरमा रहेको साढे ५ बिघा जग्गाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने काम भइरहेको पनि बताउनुभयो । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानको नाममा आवश्यक प्रक्रिया पूरा गरेर उक्त जग्गा ल्याउन सकिए जिल्लामा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको विकासमा ठूलो फड्को मार्ने बताउनुभयो ।