जनता टाइम्स

२९ जेष्ठ २०८१, मंगलवार १७:४६

सन्दीपलाई गोप्यरुपमा एक साता अगाडी नै क्यानडा पठाएका थियौं : अध्यक्ष चन्द


काठमाडौं, २९ जेठ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई वेस्ट इन्डिज पठाउनेक्रममा एक साता अगाडी नै क्यानडा पठाएको खुलासा गर्नुभएको छ । नेपाल ट्युब अस्ट्रेलियाले युट्युबमा सार्बजनिक गरेको चन्दसँगको कुराकानीमा सन्दीपलाई अवरोध हुनसक्ने अनुमान गरेर गोप्यरुपमा क्यानडा पठाएको बताउनुभएको हो । अध्यक्ष चन्दले सन्दीपले क्यानडामा एक हप्ता अभ्यास समेत गरेको दाबि गर्दै उनलाई हाल क्यानडाका प्रशिक्षक रहेका पुबुदु दासनायकेले सहयोग गरेको बताउनुभयो ।

चन्दले भन्नुभयो,‘टोटरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए । यसमा पूर्वप्रशिक्षकले भित्री रूपमा सहयोग गर्नुभयो । विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्याएका हौँ । यसमा हामी सफल भएका छौँ ।’ अध्यक्ष चन्दले नेपाललाई विश्वकपमा पुर्याउन सन्दीपको ठुलो योगदान रहेकाले उहाँले विश्वकप खेल्न हकदार रहेको बताउनुभयो । त्यसैले नै अमेरिकाको भिसा नपाए पनि वेस्ट इन्डिजमा खेलाउन क्यानले प्रयास गरेको र यसमा क्यान सफल भएको बताउनुभयो ।