जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार १३:२०

नेकपा सचिवालय बैठकको निर्देशनलाई महराले गरे अबज्ञा, सांसदबाट अझै दिएनन राजीनामा


काठमाडौं, असोज १६ । संसद सचिवालयमै कार्यरत महिला कर्मचारीमाथि बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिनुभएका कृष्णबहादुर महराले सांसदबाट भने राजीनामा नदिने अडान राख्नुभएको छ । सत्तारुढ नेकपाले बलात्कार जस्तो गम्भीर आरोपमा मुछिएको र महिलाले आफूमाथि बलात्कार गरेको भनेकै दिन महरा पीडितको कोठामा पुगेको प्रमाणका आधारमा सभामुख र सांसद दुवै प्दबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

नेकपाको गत मंगलवार बसेको सचिवालय बैठकले महरालाई सांसदबाटसमेत राजीनामा दिन निर्देशन दिएपनि उहाँले अहिलेसम्म सांसदबाट राजीनामा पत्र दिनुभएको छैन । ‘पार्टीको निर्देशन भएपनि उहाँ सांसद पदबाट राजीनामा नदिने अडानमा हुनुहुन्छ, त्यही भएर सांसदबाट राजीनामा नदिनुभएको हो,’ महरा निकट नेकपाका एक नेताले जनताटाइम्ससँग भने । उनका अनुसार महराले सांसदबाट राजीनामा नदिने सन्देश दुवै अध्यक्ष केपी शर्मा ओली र पुुष्ष्पकमल दाहाल, प्रचण्डलाई पुर्याउनु भएको छ । तर दुवै अध्यक्षले यस बिषयमा संझौता नगर्ने निर्णय सुनाउनु भएको स्रोतले बतायो ।

सांसदबाट राजीनामा नदिने अडानकै कारण महराले दोस्रो राजीनामा पत्रमा पनि सांसद भने नत्याग्नुभएको हो । संसद सचिवालय स्रोतका अनुसार महराले मंगलबार दिएको राजीनामा पत्र सच्याउँदै अर्को राजीनामा पत्र बुझाए पनि सांसदबाट राजीनामा नदिने बताउनु भयो । महराले पुरानै मितिमा राजीनामा पत्रको व्यहोरा सच्याएर उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई दिएलगत्तै संसद सचिवालयले सूचना टाँस गरी सभामुख पद रिक्त बनाएको छ ।

पहिलो राजीनामा पत्रमा महराले ‘छानबिन प्रक्रिया नसकिंदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गर्नुभएको थियो । अर्काे राजीनामा पत्रमा भने त्यो वाक्य हटाइएको छ । नयाँ राजीनामा पत्रमा ‘नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनेर उल्लेख गर्नुभएको छ । संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफूलाई बलात्कार गरेको आरोप लगाएपछि महरालाई सभामुख र सांसद पदबाट राजीनामा गर्न नेकपाको सचिवालय बैठकले निर्देशन दिएको हो ।

यता नेकपाले पार्टी निर्देशनअनुसार महराले सांसद पदबाट राजीनामा नदिए राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी व्यवस्थामार्फत् महरालाई पदमुक्त गर्ने योजना बनाएको छ । ‘पार्टी निर्णयअनुसार महराले सांसद पदबाट पनि राजीनामा दिनुपर्छ, नदिए पार्टीले उहाँलाई सांसदको हैसियतमा व्यवहार गर्दैन, पदमुक्त गर्छ,’ नेकपा सचिवालयको एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार गम्भीर चारित्रिक बिचलनमा रहेको कारण महरालाई सांसद पदमा रहिरहन पार्टीले अयोग्य रहेको निश्कर्षका साथ राजीनामा दिन निर्देशन दिएको हो ।