जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार १५:३१

चिनसँग मित्रताको मूल्य नै सर्वाधिक रहेको प्रधानमन्त्री ओलीको उद्घोष, सपिङ लिष्ट जस्तो गरी माग्ने काम हुदैन


काठमाडौं, असोज १६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताउनुभएको छ ।

सरकारी सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा आज अपराह्न कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने स्पष्ट गर्नुभयो ।

“ उच्चस्तरीय भेटघाटमा लाभहानिको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ, ”, उहाँले भन्नुभयो । “ दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ ।”

प्रधानमन्त्रीले चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने जानकारी दिँदै दुई देशबीच मित्रता अभिवृद्धि भएपछि यी विषयमा पनि स्वाभाविक वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “महामहिम राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमण एकदम सफल हुन्छ”, उहाँले भन्नुभयो । चिनियाँ राष्ट्रपति सीले निकट भविष्यमा नै नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ । (रासस)