लेखनाथ, १ असार । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको छ । आज प्रदेशसभामा बजेट सार्वजनिक गर्दै प्रदेश आर्थिक योजना मन्त्री डा. टंकराज गुरुङले सो जानकारी दिनुभयो । सोमध्ये चालु खर्चतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ, पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७८ लाख ९३ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक योजना मन्त्रीले जानकारी दिनुभयो ।
सोमध्ये खर्च अपुग हुने १ करोड ७६ लाख ११ हजार रुपैयाँ प्रदेश सञ्चित कोषमा व्ययभारमा हुने समेत उहाँले बताउनुभयो । आर्थिक मामिला मन्त्री डा. गुरुङले गण्डकी प्रदेशलाई आगामी वर्ष नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ६३ करोड ८८ लाख र राजस्व बाँडफाँटबाट नौ अर्ब ६१ करोड १२ लाख प्राप्त हुने उल्लेख गर्नुभयो । बजेटमा प्रदेशलाई रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानबाट तीन अर्ब १० करोड ११ लाख, समपूरक अनुदान एक अर्ब १९ करोड र विशेष अनुदान ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान सदनमा पेस गर्नुभयो। ।
प्रदेशको आन्तरिक राजस्व पाँच अर्ब १७ करोड हुने र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनबाट दुई अर्ब ९४ करोड नगद मौज्दात रहने उहाँको अनुमान छ । चालु वर्ष गण्डकीले ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट कार्यान्वयन गर्दै छ। बाँकी एक अर्ब ७० करोड आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य छ । बजेटले कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । त्यसका लागि कृषि र पर्यटन लक्षित कार्यक्रमका लागि इनभेस्ट गण्डकी कार्यक्रम सञ्चालन गरिने भएको छ। गाँजा खेतीका कानुन बनाई कार्यान्वयन गर्न र मोबाइल माटो अस्पताल सञ्चालन गर्न बजेट विनियोजन भएको छ ।
सरकारले प्रदेशस्तरीय भूउपयोग योजना तयार गर्दै खाद्यान्न, तरकारी, फलफूलमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। मध्य पहाडी लोकमार्गको गोरखामा पर्ने पालिकाहरूमा बाख्रा विकास कार्यक्रम चलाइने भएको छ भने प्रदेशका भेटेरिनरी अस्पतालको स्तरोन्नति गरिने भएको छ। पोखरामा बनेको मोडेल भेटेरिनरी अस्पताललाई रेफरेन्स अस्पतालका रूपमा विकास गरिने भएको छ ।
गण्डकी विश्वविद्यालयलाई विशिष्टिकृत विश्वविद्यालय र अनुसन्धान केन्द्र बनाउन र बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि विद्यालय निर्माण एवम् सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सरकारले पुस २७ गते पर्ने पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने जनाउँदै पोखरा महानगरमा पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने भएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका लागि पाँच अर्ब ४७ करोड विनियोजन गरेको सरकारले केही अस्पताल र आयुर्वेद केन्द्रलाई स्तरोन्नतिका लागि बजेट छुट्याएको छ। खेलाडीको व्यावसायिकता बढाउन प्रशिक्षण र ख्यातिप्राप्त खेलाडीलाई सम्मान गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्