जनता टाइम्स

२ असार २०८१, आईतवार १८:५७

रुसी जेल कर्मचारी आइएस कैदीको नियन्त्रणमा


मस्को, २ असार । दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस) का कैदीहरुले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार जानकारी गराएको छ । ‘रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा कैदीहरुले दुई जेल कर्मचारीलाई बन्धक बनाएका छन् । बन्धकको रिहाइका लागि वार्ता भइरहेको छ,’ जेल प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

राष्ट्रिय समाचार संस्था, तासका अनुसार बन्धक बनाउनेहरु आतङ्कवादको आरोपमा अदालतमा उपस्थित गराउन बाँकी रहेका आइएसका सदस्यमध्ये हुन् ।

जिहादी सङ्गठनले दावी गरेका थुप्रै आक्रमणका लागि रुस लक्षित भएको छ । मस्को नजिकैको कन्सर्ट हलमा बन्दुकधारीहरुले मार्च २२ मा गोली चलाउँदा कम्तिमा १४४ जनाको मृत्यु र सयौँभन्दा बढी घाइते भएका थिए । यो आक्रमण दुई दशकमा रुसी भूमिमा भएको सबैभन्दा घातक आक्रमण थियो । आइएसले आक्रमणको जिम्मेवारी लिएको थियो । त्यसपछि पूर्व सोभियत गणतन्त्र ताजिकिस्तानका चार संदिग्ध आक्रमणकारीसहित २० जनाभन्दा बढीलाई पक्राउ गरिएको हो ।