जनता टाइम्स

२ असार २०८१, आईतवार २०:२४

श्रीलङ्कामा सन् २०२५ सम्ममा सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हट्ने


कोलम्बो, २ असार । श्रीलङ्काका अधिकारीहरूले सन् २०२५ सम्ममा मोटर वाहन आयातमा प्रतिबन्धहरू कम गर्न प्रारम्भिक मार्गचित्र तयार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आइएमएफका अनुसार यो योजना सन् २०२४ को तेस्रो त्रैमासिकमा सार्वजनिक यात्रु र विशेष प्रयोजनका सवारी साधनको आयातसँगै सोही वर्षको चौथो त्रैमासिकमा सामान ढुवानीका सवारी साधनको आयातबाट सुरु हुनेछ ।

सन् २०२५ सम्ममा श्रीलङ्काले सबै मोटर वाहनहरूमा आयात प्रतिबन्धहरू पूर्णरुपमा हटाउने आइएमएफले उल्लेख गरेको छ । श्रीलङ्काले सन् २०२१ र सन् २०२२ मा कोरोनाभाइरस महामारीको प्रभावका कारण सवारी साधन आयातमा प्रतिबन्ध लगाएको र त्यसपछि देशले सामना गरेको आर्थिक सङ्कटका कारणले उक्त निर्णयलाई जारी राखेको थियो ।

श्रीलङ्का सरकारले आर्थिक सङ्कटका कारण सन् २०२२ अगस्टमा एक हजार चार सय ६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको तर विभिन्न अवसरहरूमा धेरैजसो वस्तुमाथिको प्रतिबन्ध हटाएको थियो । आधिकारिक तथ्याङ्कले सन् २०२२ मा श्रीलङ्काको कूल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको देखाएको छ । यो सन् २०२१ को तुलनामा ११ दशमलव चार प्रतिशतले घटेको छ ।