जनता टाइम्स

३ असार २०८१, सोमबार १४:००

काठमाडौंका पेट्रोल पम्प बन्द


काठमाडौं, ३ असार । ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ । थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो । शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो ।

चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको हो ।

संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ । आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।