जनता टाइम्स

३ असार २०८१, सोमबार १४:०५

गौर भन्सार कर्मचारीको बदमासी, समयमा बेरिएर नखोल्दा समस्या


रौतहट, ३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान ५ बजे बेरिएर (ढाठ) नखोल्दा सैयौं मानिसले सास्ती खेप्नु परिरहेको छ । भारतीय क्षेत्रको बैरगनियातर्फको बैरिअर भारतीय समय अनुसार बिहान ५ बजे खुल्ने तर गौर भन्सारको बैरिअर ६ बजे नेपाली समय अनुसार खुल्दा सीमा वारपार गर्ने मानिस तथा सवारीसाधन एक घन्टा कुर्न बाध्य हुँदै आएका छन् ।

एक घन्टा कुर्दा दुवैतर्फका नागरिकले सास्ती खेप्नुपरेको स्थानीय सञ्चारकर्मी रमेश सिंहले बताउनुभयो । सैयौं नागरिकको समस्या समाधान गर्न केही दिनअघि जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको दुई देशका सुरक्षा अधिकारीको बैठकमा भारतीय समय अनुसार बिहान ५ बजे दुवैतर्फको बैरिअर खोल्ने सहमति भए पनि नेपालतर्फ सहमति कार्यान्वयन हुन सकेको छैन ।

सीमावर्ती भारतीय बजार बैरगनिया रहेको रेलवे स्टेसन हुँदै दैनिक बिहानै दर्जनौं मानिस सीमा वारपार गर्ने गर्छन् । कतिपय मानिस रेलबाट झरेर बिहानै गौरतर्फ आउने गर्दछन् । कतिपय बिहानै रक्सौल हुँदै वीरगञ्जज सम्म पुग्न रेल प्रयोग गर्छन् । तर, गौर भन्सार अगाडिको बेरिएर खुल्ला नहुँदा उनीहरूले सास्ती खेप्दै आउनु परेको हो ।