जनता टाइम्स

३ असार २०८१, सोमबार १७:२६

५ लाख ऋणको आडमा पटक-पटक बलात्कारसहित घरजग्गा कब्जा गर्ने मालीलाई १० वर्ष कैद र ५० हजार जरिवानाको सजाय


काठमाडौं, असार ३ । जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवानाको सजाय तोकेको छ ।

ललितपुरकी एक महिलालाई पाँच लाख ऋण दिएको आडमा लगातार बलात्कार गर्नुका साथै घरजग्गा कब्जा गरेको अभियोगमा मालीलाई दोषी ठहर गर्दै जिल्ला अदालत ललितपुरले यस्तो सजाय तोकेको हो ।

जिल्ला अदालतकी न्यायाधीश रिताकुमारी बख्रेलको एकल इजलासले सो सजाय तोकेको हो । मालीले पीडित महिलालाई पाँच लाख रुपैया क्षतिपूर्ति भराउनु पर्ने आदेश गरेको छ । अदालतले महिलालाई यौन शोषण गर्न सघाउने उमेश शाहीको हकमा एक महिना कैद, दुई हजार जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ती भराउनुपर्ने आदेश गरेको छ ।

पीडित महिलाले मदिराको कुलतमा फसेका श्रीमानको उपचार गर्न आफन्त पर्ने मालीबाट ०७५ सालमा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । सो ऋणको मासिक ब्याज ५० हजार थियो ।आयआर्जन नभएकी ऋणी महिलाले ऋणसापट गरेर मासिक ५० हजार रुपैयाँका दरले दुईपटक ब्याज तिरेकी थिइन । यसपछि ऋणको ब्याज घटाइदिने भन्दै मालीले उनीमाथि पटक पटक बलात्कार गरेका थिए ।

मालीले आफूले मात्रै नभई साथीहरुलाई पनि पटक पटक बलात्कार गर्न लगाए तर ब्याज घटेन, बरु बलात्कारको विषय सार्वजानिक गरिदिने भन्दै ५५ लाख रुपैयाँको (मिटरब्याज) तमसुक गराएर घरजग्गा नै कब्जा गरेका थिए ।

यसबारे गतसाल साउनमा समाचारहरु प्रकाशन भएपछि पीडित महिलाले ०८० साउन १४ गते जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचविखन तथा ओसार पसार(नियन्त्रण)ऐन २०६४ अन्तर्गत ‘मानव बेचबिखन तथा ओसारपसार’ सम्बन्धी कसुर मुद्दामा जाहेरी दर्ता गरेकी थिइन । सोही कसुरमा ललितपुर जिल्ला अदालतमा ०८० भदौ ५ गते मुद्दा दर्ता गरिएको थियो ।

न्यायाधीश बख्रेलको एकल इजलासले गत जेठ १३ गते मालीविरुद्ध मानव बेचविखन तथा ओसारपसार कसुरमा दोषी ठहर गरेको थियो । सोही अनुरुप आइतबार सजाय निर्धारण गरिएको हो । बलात्कारमा दोषी माली हाल कारागारमा रहेका छन ।

पाँच लाख ऋण दिएर ८० लाखको घरजग्गा कब्जा, आफूले मात्रै नभएर साथीसमेत लगाई पटक-पटक बलात्कार