जनता टाइम्स

३ असार २०८१, सोमबार १८:४३

इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट


काठमाडौं, ३ असार । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय युद्ध क्याबिनेट विघटन गर्नुभएको छ । बेन्नी गान्ट्ज र गाडी इसेनकोटले एक साताअघि युद्ध क्याबिनेटबाट आफूलाई अलग गरपछि प्रधानमन्त्री नेतान्याहूले युद्ध क्याबिनेटको विघटन गरेको सिएनएनले जनाएको छ । यी दुई युद्ध क्याबिनेटबाट अलग भएको करिब एक हप्तापछि नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गर्नुभएको छ ।

इजरायली मिडिया रिपोर्टका अनुसार गाजामा हमाससँग जारी युद्ध जस्ता संवेदनशील मुद्दाहरू अब एउटा सानो प्लेटफर्ममा छलफल गरिनेछ । मन्त्रिपरिषद्मा अति दक्षिणपन्थी सहयोगीहरूको माग बमोजिम युद्ध मन्त्रिपरिषद्को विघटन गरेको रिपोर्टमा बताइएको छ । युद्ध क्याबिनेटमा नेतान्याहूको आलोचना बढेपछि उहाँको समस्यालाई निरन्तर बढाइरहेको थियो ।

यति मात्र होइन, ती मागका कारण अमेरिकालगायत अन्य अन्तर्राष्ट्रिय सहयोगीहरूसँग इजरायलको सम्बन्ध पनि तनावपूर्ण हुन सक्ने देखिएको थियो । यसैबीच इजरायली सेनाले यो निर्णयले आफ्नो कार्यमा असर नपर्ने बताएको छ । बेनी गान्ट्ज र गाडी इसेनकोटले गाजामा तनाव अन्त्य गर्ने नेतान्याहूसँग कुनै योजना नभएको आरोप लगाउँदै युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए । अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतान्याहुले युद्ध मन्त्रीमण्डल गठन गरेका थिए । युद्ध मन्त्रिपरिषद्मा दुई पूर्व सेना प्रमुख पनि सदस्य बनेका छन् ।