जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार २०:३५

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण : यस्ता छन समृद्ध नेपाल निर्माणका लागि एजेन्डा


काठमाडौं, असोज १६ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा अघि बढाउने बिकाशसँग सम्बन्धि एजेण्डा तय भएको छ । राष्ट्रपति सीको भ्रमणमा रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति सी भ्रमणको बेला बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार पार्ने काम भइरहेको छ । स्रोतका अनुसार भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एक–एक योजनामा छलफल गर्ने गरी एजेन्डा बनाउने काम भइरहेको छ । नेपालको प्रस्तावमा केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग, तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुने जानकारी पनि परराष्ट्रका अधिकारीहरुले दिएका छन ।

यस्तै किमाथान्का–धनकुटा–हिले सडक निर्माण, हिल्सा नाकाको विकाससँगै रेलमार्ग निर्माण पनि एजेन्डामा समावेश गरिएको छ । यस्तै गल्छी–रसुवागढी–केरुङ प्रसारण लाइन र कर्णाली जलविद्युत् आयोजनामा पनि छलफल हुनेछ । यस्तै मदन भण्डारीका नाममा खोल्न लागिएको विश्वविद्यालयका लागि चिनियाँ सहयोग माग गरिने नेपालको तयारी छ । राष्ट्रपति सीको भ्रमण मिति तय भएसँगै चिनियाँ दूतावासका अधिकारी पनि सहयोग परियोजनाबारे छलफलमा व्यस्त छन । परियोजना सूचीलाई आवश्यक परामर्श गरेर अन्तिम रूप दिन विदेशमन्त्री वाङ यीको भ्रमणमै छलफल भएको थियो ।

बीआरआई परियोजनाअन्तर्गत राष्ट्रपति सीले ठूलो सहायता घोषणा गर्ने संकेत मिलेको परराष्ट्र अधिकारीले बताएका छन । केरुङ–काठमाडौं रेल निर्माणको सम्झौतामा चीनले सहयोग घोषणा गर्न सक्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा असोज अन्तिम साता काठमाडौं आउने तय भइसकेको छ । राष्ट्रपति सी असोज २५ मा काठमाडौं आएर २६ गते स्वदेश फर्कने कार्यक्रम छ । चिनिया राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी आफै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर स्वागत गर्ने स्रोतले बताएको छ ।

राष्ट्रपति सीको भ्रमणको तयारीकै सिलसिलामा यसअघि नै विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थोउ नेपाल आउनुभएको थियो । राष्ट्रपतिको भ्रमणअघि चिनियाँ विदेशमन्त्री र विदेश विभागका प्रमुख तयारीका लागि सम्बन्धित मुलुकमा जाने चिनियाँ चलन छ । सोहीअनुसार उहाँहरु नेपाल आई राष्ट्रपति सीको भ्रमणको टुंगो लगाउनु भएको हो । चिनियाँ राष्ट्रपति सी भारतको चेन्नाईमा ‘उहान दोस्रो’ वार्तामा सहभागी भएर काठमाडौं आउन लाग्नुभएको हो ।

राष्ट्रपति सीको भ्रमणको तयारीकै क्रममा एयर चाइनाको विमानले बुधबार परीक्षण उडान गरेको छ । बेइजिङबाट आएको उक्त विमानले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्ययन गरेको थियो । जहाज अवतरण–उडान पूर्वअभ्यासका क्रममा उक्त उडान भएको र केही सामग्रीसमेत ल्याइएको बताइएको छ । सीले नेपाल आउँदा आफू चढ्ने गाडी र जामरसमेत सँगै ल्याउने हुनुभएको छ ।