लेखनाथ, ५ असार । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को बेरुजु ७९ करोड ४९ लाख ८० हजार देखिएको छ । आर्थिक वर्ष ०७९/०८० सम्मको लेखा परीक्षणमा महानगरको अद्यावधिक बेरुजु भने तीन अर्ब पाँच करोड ५० लाख २९ हजार पुगेको छ । लेखा परीक्षणका क्रममा २६ लाख ४ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सोउपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने १७ करोड ११ लाख ४८ हजार रह्यो ।
प्रमाण कागजात पेस गर्नुपर्ने १८ करोड ४३ लाख १३ हजार, नियमित गर्नुपर्ने ३८ करोड ११ लाख ८३ हजार र पेश्की बाँकी पाँच करोड ४८ लाख ८७ हजार रहेको महालेखाले औंल्याएको छ । आर्थिक वर्ष ०७८/०७९ सम्म दुई अर्ब ७९ करोड ३१ लाख १३ हजार बेरुजु बाँकी रहेकोमा ०७९/०८० मा ५३ करोड ३० लाख ६४ हजार फस्यौट भएको थियो । महानगरले ९ अर्ब छ करोड बजेटमा दुई अर्ब ४१ करोड ५० लाख रकमान्तर गरेको र पाँच अर्ब ४५ करोड अर्थात् ६० प्रतिशत खर्चमात्र खर्च गरेकोमा प्रश्न उठाएको छ ।
अघिल्लो आर्थिक वर्षभन्दा २५ प्रतिशत कम राजस्व असुली भएकोमा राजस्व वृद्धिमा ध्यान दिन महालेखाले सुझाएको छ । दुई हजार पाँच सय ३१ योजनामध्ये १ हजार तीन सय १९ अर्थात् ५२ प्रतिशत पाँच लाखभन्दा साना योजना रहेको औंल्याउँदै प्रतिवेदनले परिणाममुखी काम गर्न, योजना छनोटदेखि कार्यान्वयनसम्मको शैली बदल्न भनेको छ ।तीमध्ये तीन सय योजना कार्यान्वयन नै भएनन् ।
प्रतिवेदनले महानगरमा अनेक विकृति रहेको औंल्याएको छ।स्रोत, साधन प्राप्तिको लक्ष्य यथार्थपरक नभएको, दरबन्दी अनुसार स्थायी पदपूर्ति नहुँदा सेवा प्रवाह प्रभावित भएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, अनुदानको पर्याप्त अनुगमन नगरेको पाइएको छ । स्थायी प्रकृतिको कामका लागि करार सेवामा कर्मचारी नराखिनुपर्नेमा नगर कार्यपालिका र स्वास्थ्य महाशाखले तीन सय ४६ करार कर्मचारी राखेका छन् ।
ती कर्मचारीका लागि १३ करोड ९४ लाख ४१ हजार भुक्तानी गरेकोमा पनि महालेखाले प्रश्न उठाएको छ । विभिन्न संघ, संस्थालाई मापदण्ड र कार्यविधि तयारै नगरी महानगरले आर्थिक सहयोग भुक्तानी गरेको छ । त्यसरी २९ लाख ७५ हजार नौ सय ३२ रुपैयाँ आर्थिक सहयोग गरिएको देखिएको छ । पोखरा महानगरको खर्च गर्ने क्षमता कमजोर देखिएको छ । यो वर्ष महानगरको चालुतर्फ तीन अर्ब २८ करोड ६४ लाख ७३ हजार र पुँजीगततर्फ तीन अर्ब ८९ करोड ६९ लाख ५० हजार बजेट छ । अहिलेसम्म चार अर्ब हाराहारी बजेट खर्च भएको छ ।













प्रतिक्रिया दिनुहोस्