जनता टाइम्स

५ असार २०८१, बुधबार २२:३५

कटहरियाको ५२ करोड बढीको बजेट प्रस्तुत, कृषि क्षेत्रलाई बिशेष प्राथमिकता


रौतहट, ५ असार । रौतहटको कटहरिया नगरपालिकाको १० औं नगरसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५२ करोड, ३१ लाख, ७२ हजार ३८४ रुपैया ४० पैसाको बजेट प्रस्तुत भएको छ । आज आयोजित नगरसभाको उदघाटनसत्र एक भब्य समारोहका बिच नगरसभा सम्पन्न भएको हो । जिल्लाको १८ स्थानिय तहमध्ये यस आर्थिक बर्षमा सबैभन्दा पहिले कटहरिया नगरपालिकाले नगरसभाको आयोजना गरेको हो । कार्यक्रमका नगरपालिकाका प्रमुख अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले संयुक्त रूपमा आठौं बजेटसभा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५२ करोड, ३१ लाख, ७२ हजार ३८४ रुपैया ४० पैसाको बजेट प्रस्तुत गर्नुभयो ।

प्रस्तुत बजेटमा कृषिलाई बिशेष प्राथमिकतामा राखिएको छ । कृषि व्यवसायी तथा किसानलाई प्रोत्साहन स्वरुप कृषि विद्युत मिटर जडान गरि कृषि कार्यमा उठेको विद्युत महसुल नगरपालिकाले सतप्रतिशत अनुदान दिईने भनिएको छ । यसैगरी कृषिमा आधुनिक ब्यवसाय गर्ने फर्मलाई प्रोत्साहन स्वरुप अनुदान दिने, कृषिको बहुउद्देश्यीय भवन बनाईने, कृषि सामाग्री उपलब्ध गराई बीउ बिजन भण्डारण तथा बिक्रि बितरणको ब्यवस्था गरिने छ । पशुपन्छी ,मत्स्य, पालन भुमी व्यवस्था तथा सहकारी, पर्यटन तथा संस्कृतिमा स्थानिय पर्यटन, उद्योग, बाणिज्य तथा बित्तिय र समाजिक बिकासतर्फ जोड दिइएको छ । शिक्षा तथा खेलकुदमा क्याम्पस अध्यनरत विद्यार्थीहरुलाई पठनपाठनमा लाग्ने शुल्कमा क्याम्पसलाई विशेष अनुदानको व्यवस्थासमेत मिलाईएको छ ।

नगरसभामा स्वास्थ्य क्षेत्रमा १५ शैयाको अस्पताल निर्माणमा निरन्तरता दिँदै नगर भित्र निःशुल्क एम्बुलेन्स सेवा उपल्ब्ध गराईने भएको छ । यसैगरि स्वच्छ खानेपानीको लागी संचालित परियोजना मार्फत सहयोगलाई निरन्तरता दिने, सरसफाई अन्तर्गत ‘स्वच्छ शहर कटहरिया नगर’ को नारासमेत अवलम्बन गरिने बताईएको छ । सभामा लैङिक समानता तथा सामाजिक समावेसीकरण समेत समेटिएको छ । पुर्वाधार विकास तर्फ नगर भित्रका सडक तथा पुल, सिचाई तथा नदी नियन्त्रण, भवन तथा शहरी विकास, सञ्चार, उर्जासमेत समेटिएको छ । वातावरण तथा विपद व्यवस्तापनतर्फ, संस्थागत बिकास तथा सेवा प्रवाह र बित्तिय व्यवस्थापनलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।