काठमाडौं, असोज १७
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा रहेका भारतिय रुपैयाँ साट्ने व्यवस्था मिलाउन भारतसँग आग्रह गर्नुभएको छ । भारतले ठुला नोटमा प्रतिवन्ध लगाएपछि नेपालमा रहेका पाँच सय र एक हजारका नोट कसैले साट्न पाएका छैनन् ।
भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन त्यहा पुग्नु भएका अर्थमन्त्री युवराज खतिवडा र भारत सरकारका वित्त मन्त्री निर्मला सितारमण बीच भएको भेटमा सो कुरा उठाउनु भएको हो । अर्थमन्त्री खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न अनुरोध गर्नुभएको छ । साथै, भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आफुसँग लैजान पाउने ठुला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सुचना जारी गरिदिन समेत अनुरोध गर्नुभएको छ ।
भारतको वित्त मन्त्रालयमा भएको शिष्टाचार भेटका अवसरमा अर्थमन्त्री खतिवडाले नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गर्नुभएको छ । उहाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्था बारे जानकारी गराउनु भएको छ । भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा कुराकानी भएको थियो ।
साथै, साना विकास अनुदान योजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयन अवस्था बारेमा जानकारी गराउनु भयो । नेपाल इन्फ्रास्टकचर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्नका लागि प्रकृया अघि वढेको जानकारी दिंदै सो कार्य अघि वढाउन अनुरोध गर्नुभयो । अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धि लगायतका विषयमा समेत छलफल गर्नुभयो ।
भारतका वित्त मन्त्री श्रीमती निर्मला सितारमणले नेपाल भारत बीचको सम्बन्ध सदियौ देखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायतालाई बढाउने जानकारी गराउनु भयो । उहाले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने बताउनु भएको छ ।
साथै, नेपाल भ्रमणका लागि निमन्त्रणा गरेकोमा अर्थमन्त्री डा. खतिवडालाई धन्यवाद दिदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी गराउनु भयो । भेटमा नेपाली राजदुतावास नयाँ दिल्लीका नियोग उपप्रमुख भरत रेग्मी र अर्थ मन्त्रालयका उपसचिव रमेश अर्यालको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्