काठमाडौं, असोज १७ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुब्र्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । यौन दुब्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेल नदेखिएपछि कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरूको सुझावका आधारमा फरेन्सिक जाँच गर्ने निश्कर्षमा प्रहरी पुगेको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सोही निश्कर्षका आधारमा अनुसन्धानमा संलग्न अधिकृतहरू बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण संकलनमा जुटेका थिए । पीडित भनिएकी महिलाले क्राइम सिनभन्दा विपरीत बारम्बार फरक–फरक धारणा सार्वजनिक गर्नु शंकास्पद रहेको भन्दै प्रहरीले सो निर्णय लिएको हो । फरेन्सिक जाँचसहित अनुसन्धानमा प्राविधिक पक्ष प्रयोग गर्ने निश्कर्षमा पुगेका छौं,’ अनुसन्धानमा संलग्न एक अधिकारीले जनताटाइम्ससँग भने ।
संसद सचिवालयमा कार्यरत स्टाफ नर्स शाहीले आफूमाथि महराले यौन दुब्र्यवहार गरेको सूचना प्रहरीलाई दिए पनि लगातार आफ्नो भनाई फेर्दै आएकी छन । शाहीले स्वास्थ्य परीक्षणसमेत गराउन इन्कार गरेकी छन । आइतवार राती नै महराले बलात्कार गरेको भन्दै प्रहरीलाई बयान दिएकी शाहीले दवावमा परेर भोलिपल्टबाट बयान फेरेकी हुन । शाहीले फरक–फरक भनाइ सार्वजनिक गरे पनि प्रहरीसँग उनले घटनालगत्तै प्रहरीलाई दिएको भिडियो रेकर्ड, घटनाको अवस्था र सीसीटीभीका फुटेज सुरक्षित रहेको छ । सोही आधारमा सक्दो चाँडो अनुसन्धान टुंगोमा पुर्याएर सत्यतथ्य बाहिर ल्याउन प्रहरी जुटेको छ ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार शाहीको तीनकुनेस्थित कोठाबाट बरामद गरिएका सामान, उनले आफू ‘डिप्रेसन पीडित’ भएको व्यहोरासहित प्रहरीमा दिएको निवेदन र दुब्र्यवहार प्रकरणमा सभामुख पदबाट महराले दिएको राजीनामालाई एकै ठाउँमा राखेर अनुसन्धान थालिएको छ । त्यसक्रममा आवश्यक परे शाही र महरा दुबैसँग बयान लिने प्रहरीको योजना छ । तत्कालीन सभामुख महराबाट आफूमाथि आइतबार राति यौन दुब्र्यवहार भएको भन्दै सोमबार सञ्चारमाध्यमलाई बताएकी शाहीले मंगलबार अघिल्लो दिनको कुरा फेर्दै महराको बचाउ गरेकी थिइन । बुधबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर उनले आफू ‘डिप्रेसन पीडित’ रहेको र आइतबार राति कुनै दुब्र्यवहारको घटना नभएको व्यहोरासहित निवेदन दिएकी थिइन ।
महानगरीय प्रहरी कार्यालय (रानीपोखरी) का डीआईजी शैलेश थापाले सत्यतथ्य बाहिर ल्याउन आफूहरू जुटेको यसअघि नै मिडियालाई बताइसक्नु भएको छ । हिजो मात्रै रोशनी र उनका पति चित्रजंग शाहीले आफूहरू अलग–अलग बस्ने घोषणा गरेका छन । शाहीकै बयानअनुसार पति चित्रजंगले संगै नबस्ने भन्दै छुट्टिने निर्णय सुनाएका छन । ‘तिमी यति धेरै विवादमा आयौ, अब सँगै बस्न सकिन्न, सहमतिपत्रमा साइन गर भन्नुभो, मैले हुन्छ नि त भनेर साइन गरें,’ शाहीले भनेकी छन ।
प्रतिक्रिया दिनुहोस्