जनता टाइम्स

८ असार २०८१, शनिबार ०३:५२

विश्व बैंकबाट ८० मिलियन डलर सहुलियत ऋण स्वीकार गर्ने सरकारको निर्णय


काठमाडौं, असार ८ । सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने ८० मिलियन डलरबराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषदले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पका कारण क्षति भएका पूर्वाधार पुनःनिर्माण र पुनस्र्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप आठ दशमलव एक मिलियन पाउण्डस्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि बैठकले निर्णय गरेको छ ।

त्यसैगरी, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको छ । बैठकले प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल, सदस्यहरूमा मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।