सिमरा, ११ असार । जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभाको तेस्रो बैठक सोमबार तनावपूर्ण अवस्थापछि अवरुद्ध भएको छ । अवैधानिक ढंगबाट सभा सम्पन्न गर्न खोजिएको भन्दै अधिकांश नगरसभा सदस्य तोडफोडमा उत्रिएपछि बैठक अवरुद्ध भएको हो । जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा आयोजित बैठकमा नगर प्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेपछि विरोध सुरु भएको थियो ।
अवैध ढंगले नगरसभा गर्न लागिएको भन्दै यसअघिका दुई बैठक बहिष्कार गरेका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीसहितका अधिकांश सदस्य विरोधमा उत्रिनुभएको थियो । बैठकको विरोध गर्दै सभास्थल प्रवेश गरेका नगरसभा सदस्यले कुर्सी भाच्न थालेपछि स्थिती तनावपूर्ण बनेको थियो । उहाँहरुले नगर प्रमुख पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनुभएन ।
आक्रोशित नगरसभा सदस्यको विरोध र तोडफोडपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले नगर प्रमुख पौडेललाई सुरक्षा दिएर स्टेजमै राख्नुभएको थियो । कडा सुरक्षा घेराबीच बैठक स्थल प्रवेश गरेका नगर प्रमुखले नगरसभा संचालन नियमावली २०७५ को दफा ५ को उपदफा (३) बमोजिम २५ प्रतिशत सदस्यको उपस्थिती नहुँदै नीति तथा कार्यक्रम वाचन गर्न थालेका थिए ।
उपदफा (१) र (२) बमोजिम असार ५ र ८ गतेको बैठक स्थगित भएपछि उपदफा (३) बमोजिम २५ प्रतिशतको उपस्थितीमा बैठक बस्न सक्ने नियमावलीमा व्यवस्था छ । तर नगर प्रमुख पौडेलले हाल कायम सदस्यको २५ प्रतिशत अर्थात ३१ जना सदस्यको उपस्थिती नहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेपछि नगरसभा सदस्यले विरोध गर्नुभएको हो । नगर प्रमुख पौडेल बैठक स्थलमा प्रवेश गर्दा २७ जना नगरसभा सदस्यले मात्रै उपस्थिती जनाउनुभएको थियो ।
आफू समेत हाजिरी पुस्तिकामा उपस्थिती नजनाई बैठक स्थल प्रवेश गरेका पौडेलले राष्ट्रिय धुन बजेलगत्तै नीति तथा कार्यक्रम वाचन गर्न थालेपछि बैठक विरोधमा रहेका ९४ जना सदस्य बैठकस्थल प्रवेश गरेपछि सभा बिथोलिएको थियो । उपप्रमुख अधिकारीसहित नगरसभा सदस्यलाई बैठक स्थलमा प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीले रोक्दा केहीबेर घम्साघम्सी समेत भएको थियो । बैठकस्थल प्रवेश गर्न लागेका जनप्रतिनिधिलाई रोक्न सुरक्षाकर्मीले अनावश्यक बल प्रयोग गरेपछि स्थिती थप बिग्रिन पुगेको थियो ।
यसरी विथोलिन पुग्यो नगरसभा बैठक
नगरसभा संचालन नियमावली २०७५ को ५ उपदफा ९१० बमोजिम नगर प्रमुख पौडेलले असार ५ गते पहिलो नगरसभा बैठक बोलाएका थिए । तर कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नै नभएको भन्दै उपप्रमुखसहित वडाध्यक्ष र कार्यपालिका सदस्यले पहिलो बैठक बहिष्कार गर्नुभएको थियो । पहिलो बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित नगरभासदस्य उपस्थित भएनन् ।
उपदफा (१) अनुसार बैठक संचालनका लागि ५० प्रतिशत भन्दा बढी सदस्यको उपस्थिती अनिवार्य छ । नियमावली अनुसार गणपूरक संख्या नपुगेपछि नगर प्रमुख पौडेलले तत्कालै उक्त बैठक स्थगन गरेर उपदफा (२) बमोजिम दोस्रो बैठक आह्वान गर्नुभयो । दोस्रो बैठकमा पनि ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएनन् । नगर प्रमुख पौडेलले दोस्रो बैठक पनि स्थगित गरेर उपदफा (३) बमोजिम तेस्रो बैठक असार १० गतेका लागि बोलाएका थिए ।
उपदफा (३) मा २५ प्रतिशतको उपस्थितीमा बैठक बस्न सक्ने प्रावधान छ । तर अधिकांश सदस्य विरोधमा रहेका कारण नगर प्रमुखलाई २५ प्रतिशत पुर्याउन सकस देखिन्थ्यो । उहाँले नेकपा माओवादी केन्द्रबाट निर्वाचित आफूसहित २० सदस्यमा थप ११ जनाको समर्थन खोजिरहनुभएको थियो । त्यसका लागि एकीकृत समाजवादीबाट निर्वाचित चार र नेपाली कांग्रेसबाट वडा नं. २४ मा निर्वाचित तीन सदस्यको समर्थन अन्तिम समयमा प्राप्त गर्नुभएको थियो । तर उहाँले २५ प्रतिशत समर्थन प्राप्त गर्न सक्नुभएन । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बज्न लागिसक्दा पनि सुरु भएको थिएन ।
यसबीचमै नगर प्रमुख पौडेल सुरक्षा घेराबीच बैठक स्थल प्रवेश गर्नुभयो । उहाँलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सुरक्षा दिएर बैठक स्थल भित्र प्रवेश गराउनुभएको थियो । नगर प्रमुख पौडेल प्रवेश गरेलगत्तै राष्ट्रिय गान सुरु भयो । त्यसलगत्तै उहाँले नीति तथा कार्यक्रम वाचन गर्न थाल्नुभयो । उहाँले नीति तथा कार्यक्रम पढ्न सुरु गरेलगत्तै बैठकस्थलमा रहेका असन्तुष्ट नगरसभा सदस्यले अवरोध गर्नुभयो । सो लगत्तै प्रहरीको सुरक्षा घेरा तोडेर उपप्रमुख अधिकारीसहितका नगरसभा सदस्य बैठक स्थल प्रवेश गरेपछि नगर प्रमुखले नीति तथा कार्यक्रम पढ्ने वातावरण बन्न सकेन ।
नीति तथा कार्यक्रम र बजेट पास भयो : प्रमुख
तनावपूर्ण अवस्था भएपछि बैठक बिथोलिएपनि नगर प्रमुख पौडेलले पौडेलले नीति तथा कार्यक्रम र बजेट पास भएको बताउनुभएको छ । सुरक्षाकर्मीको घेराका बीच संचारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले नीति तथा कार्यक्रम र बजेट पास भएको दावी गर्नुभयो । उहाँले पास भएको बजेटलाई स्विकारेर हिड्न आग्रह गर्नुभएको थियो ।
पौडेलले उक्त दावी गरिरहदा बैठक स्थलमा नीति तथा कार्यक्रम र बजेट भने प्रस्तुत भएको थिएन । नगर प्रमुख पौडेलले बजेट वक्तव्य कार्यपालिका सदस्य रामप्रसाद लामिछानेले पढेको र उक्त बजेट सभाले पास भएको दावी गरिरहनुभएको थियो । तर वडाध्यक्ष लामिछानेले भने बजेट प्रस्तुत नै हुन नपाएको बताउनुभएको छ ।
नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छैन : उपप्रमुख
नगर उपप्रमुख अधिकारीले अवैधानिक रुपमा आयोजना गरिएको बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत नै नभएको बताउनुभएको छ । बैठक स्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिदै अधिकारीले नीति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत नभएको र पास पनि नभएको बताउनुभयो । नगर प्रमुख पौडेलले सिमरामा बसेर अवैध ढंगले २५ प्रतिशतको उपस्थिती गराएर नगरसभामा आएको र सोही आधारमा नीति तथा कार्यक्रम र बजेट पारित भएको भन्ने आफूले सुनेपनि त्यस्तो कुरामा नलाग्न समेत अधिकारीले आग्रह गर्नुभएको छ । अधिकांश नगरसभा सदस्यको भावना र चाहनाविपरित नगर प्रमुख एकलौटी ढंगबाट अघि बढ्न खोजे त्यसको प्रतिवाद गर्न आफूहरु समेत तयार रहेको अधिकारीको भनाई थियो ।
प्रहरीको गाडीमा राखेर नगर प्रमुख पौडेललाई भगाईयो
नगरसभा बैठक अवरुद्ध भएपछि नगर प्रमुख पौडेल स्टेजमै सुरक्षाकर्मीको घेरामा बसिरहनुभएको थियो । उहाँलाई तीन तहमा नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिनुभएको थियो । तोडफोडमा उत्रिएका नगरसभा सदस्यले बैठकस्थलबाट बाहिर निस्किन नदिएपछि प्रमुखलाई सुरक्षाकर्मीले सुरक्षा दिएको थियो । उहाँलाई बैठकस्थलबाट पटक–पटक निकाल्ने प्रयास गरेपनि नगरसभा सदस्यले विरोध गरेपछि प्रहरीले पुनः स्टेजमै लगेर राख्नुभएको थियो ।
यसबीचमै प्रहरीले नगरसभा सदस्यलाई भुक्याउदै नगर प्रमुख पौडेललाई बैठक स्थलबाट भगाएको थियो । नगरसभा सदस्यलाई बैठक स्थलमै घेरेर राख्दै प्रहरीले अर्को ढोकाको प्रयोग गरेर नगर प्रमुखलाई लगेको थियो । सो क्रममा नगरसभा सदस्य र प्रहरीबीच निकै घम्साघम्सी समेत भएको थियो । नगर प्रहरी पौडेललाई बैठकस्थलबाट निकाल्ने क्रममा संयौको संख्यामा रहेका सुरक्षाकर्मीले महिला जनप्रतिनिधिलाई कुल्चिदै हिडेको थियो । सो क्रममा कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारीको हातमा चोट लागेको छ ।
संवादविहिन अवस्थाले निम्त्याएको द्वन्द्ध
यसअघिका नगरसभामा पनि विवाद नदेखिएको होईन् । नगर प्रमुखमा राजन पौडेल निर्वाचित भएकै पहिलो नगरसभामा पनि ठूलै विवाद भएको थियो । त्यसबेला संवाद र छलफलबाटै समाधान निकालेर सफलरुपमा नगरसभा सम्पन्न भएका थियो । त्यसपछिका अन्य सभामा पनि विवाद नदेखिएका होईनन् । तर यसपटक तोडफोडनै हुने स्थिती उत्पन्न भयो । यसरी विवाद चुलिनुको मुख्य कारण भने संवाद र छलफल नहुँदाको परिणाम हो ।
नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा कार्यपालिका सदस्यकाबीच घनिभूत छलफल हुनुपथ्र्यो । तर कार्यपालिका बैठकमा यस विषयमा छलफल हुन सकेन । नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बेलामा कार्यपालिकाका अधिकांश सदस्य अन्तरपालिका नाम दिइएको भ्रमणमा व्यस्त रहेका थिए । त्यसबेलामै नगर प्रमुख पौडेलले नगरसभाको तयारी गर्नुभयो । भ्रमणमा जाने भनेर अन्तिम समयमा स्थगित गरेका पौडेल नगरसभाको तयारीमा जुट्नुभयो ।
कार्यपालिकाका अधिकांश सदस्य भ्रमणमै रहेका बेला प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले नगरसभाको मिति तोकेर सूचना प्रवाह गर्नुभयो । उक्त सूचनामा असार ५ गते नगरसभा बोलाइएको थियो । त्यतिबेला अन्तरपालिका भ्रमणका सदस्य फर्किएका थिएनन् । उहाँहरु भ्रमणमै रहेका बेला नगर प्रमुख पौडेलले असार ४ गतेका लागि कार्यपालिका बैठक बोलाउनुभयो । नगरसभाको अघिल्लो दिन बोलाइएको कार्यपालिका बैठक विवादरहित हुन सकेन ।
कार्यपालिकामा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नै नगरी नगरसभा बोलाएको भन्दै अधिकांश कार्यपालिका सदस्यले नगर प्रमुखमाथि असन्तुष्टी र आक्रोश व्यक्त गर्नुभयो । उहाँहरुले नगरसभाको मिति पछाडी सार्न र कार्यपालिकाबाट छलफल गरेर अघि बढ्न नगर प्रमुखलाई अनुरोध पनि गर्नुभयो । तर नगर प्रमुखले आफ्नो अडान छाड्नुभएन । उहाँले नगरसभाको मिति नसार्ने तर असार ५ गते बिहान ९ बजेका लागि बैठक बोलाउनुभयो ।
उक्त बैठकमा नगर प्रमुख, उपप्रमुख उपस्थित हुनुभएन । सोही समयमा कार्यपालिका सदस्यले पत्रकार सम्मेलन समेत आयोजना गरेर असन्तुष्टी व्यक्त गर्नुभयो । असार ५ गतेको बैठक गणपूरक संख्या स्थगित भएपछि नगरसभाको बैठक बस्न सकेन । नीति तथा कार्यक्रम बनाउने नगर प्रमुख र बजेट बनाउने उपप्रमुखबीच संवाद हुन सकेन । नगर प्रमुख नगरसभा संचालन नियमावली २०७५ को दफा ५ बमोजिम नगर सभा गर्ने तयारी गरेपछि उपप्रमुखसहित अन्य सदस्य सोही दफा बमोजिम नगर सभा हुन नदिने तयारीमा जुट्नुभयो ।
दुवै पक्षबीच विषय केन्द्रीत औपचारिक छलफल हुन सकेन । वडाध्यक्ष र कार्यपालिकाका अधिकांश सदस्यले नीति तथा कार्यक्रम र बजेट कार्यपालिका बैठकमा छलफल गरेर अघि बढ्न नगर प्रमुखलाई प्रस्ताव गर्दा उहाँ भने कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पास भईसकेको बताउँनुहुन्थ्यो । तर कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल समेत नभएको उपप्रमुख अधिकारी बताउँनुहुन्छ । यसबीचमा नगरसभा सफल बनाउने विषयमा केन्द्रीत रहेर छलफल र संवाद नहुँदा तेस्रो बैठक तनावपूर्ण र अनिर्णित बन्न पुग्यो ।













प्रतिक्रिया दिनुहोस्