जनता टाइम्स

११ असार २०८१, मंगलवार १४:०७

विदेशबाट आएका कामतको होटलमा शंकास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार


सिरहा, ११ असार । सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ । होटल संचालक धर्मा महतोका अनुसार विहान ९ः३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी थियो ।

धेरै समय भइसक्दासमेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिनुभयो । मृतक कामती वैदेशिक रोजगारीबाट आज विहान मात्र घर आईपुगेको परिवारजनले जानकारी दिनुभयो ।

मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने वितिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताउनुभयो । मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन् । कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेको बताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनास्थमो प्रकृति मुचुलका उठाउने काम भईरहेकोले तत्काल केही बताउन नसकिने जनाएको छ ।