काठमाडौं, १२ असार । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन् । आज बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका डगौरा र चौधरीको चट्याङ लागेर मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताउनुभयो ।
डगौरालाई आज बिहान साढे ७ बजे खेतमा आली लगाइरहँदा चट्याङ लागेको थियो । आफन्तले स्थानीय महापार्वती क्लिनिकमा पुर्याउँदा उनको मृत्यु भएको बोहराले बताउनुभयो । त्यस्तै, चौधरीलाई बिहान ८ बजे आफ्नै घरनजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेको थियो । उहाँलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा उपचारको क्रममा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर अन्य ६ जना घाइते रहेका छन् । घाइते हुनेमा कैलाली जानकी गाउँपालिका–४ बेलपुरकी २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी गाउँपालिका–६ का ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका–९ बुदेनीकी ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र २० वर्षीया खिमा कडायत रहेका छन् ।
कसरी पर्छ चट्याङ ?
विज्ञानशास्त्रका प्राध्यापकका अनुसार चट्याङ ‘इलेक्ट्रिक चार्ज’ हो । बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भन्ने गरिन्छ । तिनै बादल जुधेपछि ठूलो आवाज निस्किने गरेको हो । ‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्नुहुन्छ,‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो ।’
यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ । उहाँका अनुसार यो जमिनसम्म आउने हो भने सारा सखाप हुन्छ । ‘कुमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले गर्ने हो भौतिक र मानवीय क्षति । ‘त्यो आगोको मुस्लो आएर घरहरू सल्किन्छन्,’ अधिकारी भन्नुहुन्छ, ‘त्यो पानीले निभाउन सकिन्न ।’
चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको र खुला ठाउँमा हिँडिरहेको बखत थिए भन्ने विवरण आउने गरेको छ । विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ। ठूला रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ ।
चट्याङबाट बच्न के गर्ने ?
प्राध्यापक अधिकारीका अनुसार चट्याङबाट बच्ने उपाय सावधानी हो । चट्याङबाट बच्न घरको वायरिङमा विशेष ध्यान दिनुपर्छ । यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले बाहिरबाट आउने करेन्टलाई परै फाल्दिन्छ । अर्थिङमा एक प्रकारको इलेक्ट्रिक यन्त्र जडान गरिएको हुन्छ । बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट बच्नु हो । ठूला रूखका फेदमा नबसेको राम्रो हुने अधिकारी बताउँछन् ।
‘बिजुली चम्केका बेला इलेक्ट्रिकल यन्त्रहरू प्रयोग गर्नुहुँदैन,’ अधिकारी भन्छन्, ‘घरमा जडित सर्किटहरू बेला(बेला जाँच गरिरहनुपर्छ, कतै सर्किट लिक भएको छ भने चट्याङले हान्छ ।’ त्यसैगरी, अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ । तैपनि कुनै–कुनै बेला टावरमा क्षति गरिरहेकै हुन्छ चट्याङले। यस्ता टावरको वरपर रहने बस्ती बढी जोखिमपूर्ण हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्