जनता टाइम्स

१३ असार २०८१, बिहीबार १६:००

कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको काम अन्तिम चरणमा


डुम्रे, १३ असार । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नदीसँग जोडिएका कार्य पूर्ण रूपमा सकिएको छ भने माथिल्लो भागका निर्माण भइरहेको छ । कालीगण्डकी नदी मोटरेबल पुल पुट्टारघाट ९तनहुँ(पाल्पा० उपभोक्ता समिति अध्यक्ष विष्णुभक्त सिग्देलले नदीमा पानीको सतह बढेर आए पनि काम गर्न सकिने जानकारी दिनुभयो ।

हालसम्म ९० प्रतिशत काम सकिएको उहाँले जानकारी दिनुभयो । सडकसँग पुल जोड्ने, रेलिङ हाल्ने र अन्तिम चरणको काम बाँकी रहेको उहाँले बताउनुभयो । नदीसँग जोडिएको संरचनाका काम सकिएको र बाँकी भएका काम तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘आगामी मङ्सिर, पुसमा सहजरुपमा स्थानीयलाई यात्रा गर्ने वातावरण बनाउन प्रयासरत छौँ ।’ वि.सं.२०७३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट प्राप्त भएपछि कालीगण्डकी नदीमाथि पुल निर्माण थालिएको हो । पुल निर्माणले अब स्याङ्जाको घुमाउरो बाटोबाट पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि यहाँका स्थानीय हर्षित भएका छन् ।

‘देशकै नमुनाको रूपमा डबल ल्याण्डको युनिक पुल निर्माण भइरहेको छ, यहाँ पुल निर्माण हुन थालेसँगै आम नागरिकमा खुसी छाएको छ, यहाँ बनेको मोटरेबल पुलले तराई र पहाडतर्फ जान सहज हुनेछ’, अध्यक्ष सिग्देलले भन्नुभयो । पुल अभावले विगतमा भोग्दै आएको सास्तीको समाधान गर्ने र दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने उद्देश्यले यहाँका स्थानीयको पटक(पटकको प्रयासले मोटरेबल पुल निर्माण गरिएको छ । ‘नितान्त स्थानीयको प्रयासले कालीगण्डकी नदीमाथिको मोटरेबल पुल निर्माणले सफलता पाएको छ’, अध्यक्ष सिग्देलले भन्नुभयो,‘यहाँ बनेको पुलले तनहुँका ग्रामीण क्षेत्रमा ठुलो विपद् आइपरेमा जिल्लाको सहयोगको मात्र नभई प्रदेश राजधानी पोखराबाट पनि सहजरुपमा सहयोग लिन सकिनेछ ।’

घिरिङमा बाढी, पहिरो, आगलागीजस्ता विपद् आइपरेको खण्डमा सदरमुकामबाट सहजरुपमा सहयोग पुग्न नसकेको अवस्थामा पनि प्रदेश राजधानी पोखरा, रामपुर, तराई क्षेत्रबाट सहजरुपमा सहयोग पाउन सक्नेछ । वर्षायाममा खहरे खोलामा बाढी आएको अवस्थामासमेत पुलमार्फत अन्यत्र आवतजावत गर्न सकिनेमा स्थानीय विश्वस्त छन् । डबल ल्याण्डको पुल दुई सय १० मिटर लम्बाइको बन्नेछ । वि.सं.२०७३ असार ३ मा शर्मा युनाइटेड विल्डर्स, रमन जेभीले २४ करोड ७९ लाख ७९ हजार एक सय २५ मा ठेक्का सम्झौता गरेको छ । हालसम्म उक्त पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ ।

वि.सं.२०८१ पुस मसान्तसम्ममा ठेकेदार कम्पनीले उक्त मोटरेबल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म पुलको ढलान, जडानलगायतका कार्य भइरहेको छ । वर्षायामसँगै आउने बाढीपहिराले स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि खुसी लागेको दानबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,‘पुल बनेपछि सवारीबाट मात्र नभई हिँडेर भए पनि पाल्पा पुग्न र आउन भ्याइन्छ, बाटो घुमाउरो पनि पर्दैन, यो पुल बन्दै गर्दा हामीलाई खुसी दिलाएको छ ।’ स्याङ्जाको बाटो भएर पाल्पा जाने क्रममा पनि खोलामा पुल नहुँदा यात्रामा समस्या आउने गरेको थियो ।

यहाँ मोटरेबल पुल निर्माणपछि भने चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने छन् । गण्डकी प्रदेशको ग्रामीण क्षेत्र मानिने तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर जोड्ने उद्देश्यले पुल निर्माण गरिएको हो । यो पुल कालीगण्डकी कोरिडोरसँग सिधा जोडिन्छ । यहाँ पुल निर्माणपछि यात्राको दूरी कम हुँदा ग्रामीण क्षेत्रका स्थानीयलाई सेवा प्रवाहमा सहज हुनेछ ।