जनता टाइम्स

१८ आश्विन २०७६, शनिबार १५:५७

यसकारण रोशनीले दिइन् महराविरुद्ध किटानी जाहेरी


काठमाडौं, असोज १८

निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा नयाँ घटनाक्रम शुरु भएको छ । शुरुमा बलात्कारको आरोप लगाएकी संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले महराविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

शुरुमा बलात्कार भएको बताएकी उनले भोली पल्टै नाटकिय रुपमा बयान फेर्दै महरा आफ्नो कोठामा नै नआएको बताएकी थिइन् । तर, शनिवार भने उनले महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । शनिबार पीडित रोशनी स्वयम् महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर तत्कालीन सभामुख महराविरुद्ध बलात्कार प्रयासको कसूरमा किटानी जाहेरी दिएकी हुन् । ‘पीडित रोशनी स्वयम् आएर महराविरुद्ध किटानी जाहेरी दिनुभएको छ। यस सम्बन्धी थप कारबाही प्रक्रिया आइतबार अगाडि बढाउँछौं’, प्रहरी स्रोतले भनेको छ ।

पिडित स्रोतले दिएको जानकारी अनुसार महरासम्वद्ध कसैले उनलाई धम्काएपछि बयान फेरेकी थिइन् । तर, प्रहरीले सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिने आश्वासन दिएपछि शाहीले उजुरी दिन राजी भएको स्रोतले जानकारी दिएको छ । किटानी जाहेर शनिबार दर्ता भएकोले थप अनुसन्धान प्रक्रिया आइतबारबाट सुरु हुने प्रहरी स्रोतको भनाइ छ।

गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि सोमबार दिउँसो उनले सभामुख पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ। तर सांसद पद भने यथावत छ।

किटानी जाहेरीपछि उनीमाथिको छानबिन प्रक्रिया अगाडि बढाउन महरालाई सांसदबाट निलम्बन गराइने छ । अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले महरा र पीडित रोशनी तथा बरामद सामानको फरेन्सिक जाँचको तयारीसमेत गरेको छ । महरा प्रकरणको विषयमा शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालबीच कुराकानी भएको थियो।