जनता टाइम्स

१८ आश्विन २०७६, शनिबार १६:२०

आरोप पुष्टि भए महरालाई तीन वर्ष जेल, यसरी जुटायो प्रहरीले प्रमाण


काठमाडौं, असोज १८

यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको कसुर पुष्टी भए ३ वर्ष कैद हुने भएको छ । पीडित रोशनी शाहीले शनिबार किटानी जाहेरी दिएपछि प्रहरी आरोपमाथि अनुसन्धानमा जुटेको छ ।

यद्यपी यसविचमा प्रहरीले सबै प्रमाण पनि जुटाएको छ । तर, बलात्कारको प्रयास गरेको भन्ने विषयमा भने शारिरिक परिक्षण नभएकाले पुष्टि गर्न कठिन हुन सक्ने औल्याइएको छ । शाहीको शरिरमा घाउ चोटपटक रहेपनि स्वास्थ्य परिक्षण अहिलेसम्म भएको छैन । प्रहरी सम्वद्ध स्रोतका अनुसार रोशनीको स्वास्थ्य परिक्षण गर्ने तयारी भईरहेको छ । साथै आवश्यक सिसिटिभी फुजेट, महराको सचिवालयले झुठा रुपमा जारी गरेको विज्ञप्ती, घटनामा भेटिएका सामान शुरुमै प्रहरीले संकलन गरिसकेको छ ।

प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार अनुसन्धान अगाडि बढाएको छ । यौन दुर्व्यवहारको कसुर पुष्टि भए मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २२४ अनुसार ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ । उक्त दफामा कसैलाई यौन दुर्व्यवहार गर्न नहुने भनिएको छ । महरा सभामुख भएकै अवस्थामा यौन दुर्व्यवहार भएकोले कसुर पुष्टि हुँदा उनीविरुद्ध थप सजाय हुनसक्छ ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ । जबरजस्ती करणीको प्रयास गरे त्यसको आधी सजाय हुने व्यवस्था संहिताले गरेको छ । यो कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ ।