जनता टाइम्स

१७ असार २०८१, सोमबार २१:५४

ललितपुर महानगरको बजेट नगरसभाबाट पारित


ललितपुर, असार १७ । ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ ।

यही असार १० गतेको नगरसभा बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेस गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधयेक आजको नगरसभाको बैठकले सर्वसम्मतिले पारित भएको प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले जानकारी दिनुभयो । महानगरले  सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

‘वार्षिक बजेटमा स्रोतको व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट रु एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ, आन्तरिक स्रोतबाट रु तीन अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने अनुमान गरिएको छ,’ महर्जनले भन्नुभयो ।

प्रवक्ता महर्जनका अनुसार चालु खर्चतर्फ दुई अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ चार अर्ब ६७ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस वर्षको वार्षिक बजेटमा वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी गराउनुभयो ।

‘चरणबद्धरुपमा हामीले औपचारिक, अनौपचारिक ढङ्गबाट छलफल गर्यौं, नगरसभामा घनिभूत छलफलपछि नगरसभाका सदस्यहरुले राख्नुभएको केही संशोधनसहित बजेट पारित भयो, वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको छ, शिक्षा र स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई विशेष ध्यान दिएका छौँ, ज्येष्ठ नागरिक र बालबालिका समेतलाई प्राथमिकतामा राखेका छौँ,’ प्रमुख महर्जनले भन्नुभयो ।

वातावरण संरक्षण, हरियाली प्रवद्र्धनका साथै पोखरीको संरक्षण गर्दै सहरी सौन्दर्यता कायम राख्ने कुरालाई महानगरले विगतका वर्षदेखि नै प्राथमिकतामा राख्दै आएको छ