जनता टाइम्स

१९ आश्विन २०७६, आईतवार १५:३४

महरालाई पक्राउ गर्न प्रहरी परिचालन


काठमाडौं, असोज १९

निर्वतमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । नयाँ बानेश्वर प्रहरी वृत्तबाट महरालाई पक्राउ गर्न प्रहरी खटाइएको स्रोतले जानकारी दिएको छ । संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका महरालाई पक्रन प्रहरीलाई जिल्ला अदालतले अनुमति दिएको छ ।

अनुमति दिएसगै महरा पक्राउका लागि प्रहरी परिचालन गरिएको हो । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको अदालतका कर्मचारी ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । अदालतको आदेशसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ ।

नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ । बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।

प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ। दुवैको रिपोर्ट आएनआएको बारे भने कुनै जानकारी दिइएको छैन। रोशनीले स्वास्थ्य परिक्षण गराउन राजी भएसँगै किटानी जाहेरी दिन पनि राजी भएको प्रहरी स्रोतले बताएको छ।