काठमाडौं, असोज १९
यौन दूराचारको आरोप लागेपछि निर्वतमान सभामुख कृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ परेका छन् । केही समयको छलफलपछि प्रहरीले महरालाई प्रहरी वृत्त सिंहदरवारमा राखिने छ ।
महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिन सभामुखको कार्यालय रहेको बालुवाटार पुगेको थियो । प्रहरी टोलीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट महरालाई नियन्त्रणमा लिएको छ । राजीनामा दिए पनि महराले सरकारी निवास छाडेका थिएनन् ।
महराविरुद्ध शुक्रबार जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको थियो । पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् ।
उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्