जनता टाइम्स

२३ असार २०८१, आईतवार ११:३५

ब्राजिललाई स्तब्ध बनाउँदै उरुग्वे सेमिफाइनलमा


काठमाडौं, असार २३ । ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

लसभेगासमा आइतबार बिहान भएको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो । निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट खेलको हारजीत भएको हो ।

उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले पेनाल्टीमा गोल गरे । जोस मारिया जिमिनेसको प्रहार ब्राजिलका गोलकिपर एलिसनले बचाए ।

ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रिएल मार्टिनेलीले मात्र पेनाल्टीमा गोल गरे । एडर मिलिटाओको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने डोगलास लुइसको प्रहार पोष्टमा लागेको थियो ।

उरुग्वेले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । कोलम्बियाले पानामालाई ५-० ले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।