जनता टाइम्स

१९ आश्विन २०७६, आईतवार १९:३४

महराको सांसद पद निलम्बन, सिंहदरवार वृत्तमा पहिलो रात


काठमाडौं, असोज १९

प्रतिनिधिसभाका सदस्य एंव निर्वतमान सभामुख कृष्णबहादुर महराको पहिलो रात महानगरिय प्रहरी वृत्त सिंहदरवारमा वित्ने भएको छ । फौजदारी मुद्दामा पक्राउ परेका सांसद महरा भने निलम्बनमा परेका छन् ।

महरा पक्राउ परेसँगै उनको सांसद पद स्वतः निलम्बन भएको छ । सांसद पद स्वतः निलम्बन सभामुखबाट राजीनामा दिएका महरा नेपाल कम्युनिस्ट पार्टीका सांसदका रूपमा कायमै छन् । यद्यपी उनलाई सांसद पदबाट पनि राजीनामा दिन नेकपाको सचिवालयले निर्देशन दिएको छ । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महरालाई पक्राउ गरेको जानकारी प्रहरीले उपसभामुख तथा संघीय संसद सचिवालयलाई दिनेछ ।

संविधानको धारा १०३ को उपधारा ६ अनुसार ‘संघीय संसद्‍को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।’

प्रतिनिधिसभा नियमावलीको दफा २२४ को उपदफा २ अनुसार कुनै पनि सांसदलाई संसद अधिवेशन जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन भनेर लेखिएको छ । यसमा पनि संविधानमा व्यवस्था गरिएको विषय जस्ताको तस्तै ल्याइएको हो । यो उपधारामा थप लेखिएको छ, ‘तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ।ु यहिँ दफा, उपदफाअनुसार ुसंसद् अधिवेशन जारी भएको अवस्थामा कुनै सदस्यलाई पक्राउ गर्दा त्यसको सूचना सभामुखले प्रतिनिधिसभामा तत्काल दिनुपर्नेछ । तर नियमावलीको उपदफा २ अनुसार बैठक नचलेको अवस्थामा सभामुखले सचिवालयको सूचनापाटीमा सोको सूचना टास गर्न लगाई सार्वजनिक गर्न लगाउने छ ।’

महरा पक्राउ परेपछि संसद सचिवालय सार्वजनिक सूचना जारी गर्नेछ। त्यस्तो सूचना सामान्यतः संसदका महासचिवले जारी गर्छन्, उनको अनुपस्थितिमा संसद सचिवालयका सचिवले जारी गर्ने चलन छ । सांसद पदमा रहेको व्यक्तिले गर्ने अपराधबारे संविधानमा थप लेखिएको छ । संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धात्मक वाक्यांश छ, ‘कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ ।’ यो पक्राउसँगै महराको सांसद पद निलम्बनमा परेको छ। उनीविरुद्धको आरोप पुष्टि भएमा सांसदबाट उनी पदमुक्त हुनेछन् भने सजाय पनि हुनेछ ।